काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आईरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे ।
ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने बताए । उनले वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
ओलीले भने, ‘सरकार परराष्ट्र सम्बन्ध संचालनमा हतास देखिएको छ । पियानो बजाउन दुवै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ । तर दश वटै औंलाले एकैपटक पियानो थिच्यो भने त्यसमा कर्कश ध्वनी मात्रै पैदा हुन्छ । त्यसले संगीत पैदा गर्दैन । अहिले सरकारले दशवटै औंला एकै पटक थिचेजस्तो विभत्स आवाज मात्रै आएको छ । र, त्यसबाट छिमेकी मित्र राष्ट्रहरु र विदेशी समूदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको छ । नेपाल नेपाल र नेपालीको परिचय किमार्थ हुन सक्दैन । विषय बुझ्दा ढिलो भईसकेको हुन सक्दछ । सरकारको यस नीतिले नेपालको प्रतिनिधित्व गर्न सक्दैन । यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिदैन ।’
प्रस्तावित नीति तथा कार्यक्रमको बूदा नम्बर १८५ मा संविधानको अनुसूचिमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन् भन्दै उनले प्रधानमन्त्रीको हुन लागेको भारत भ्रमणले पनि आफूले यस विषयलाई गम्भीर समस्या देखेको बताए । ओलीले भने, ‘एउटा हामीले के बुझ्नु पर्यो भने परराष्ट्र सम्बन्धको विषयमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । भारत छिमेकी हो । र, मित्र राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरु खुलस्त गर्न किन नसक्ने ? खुलस्त कुरा नगरी समस्याहरु कसरी समाधान हुन्छ ? त्यसकारण खुलस्त कुरा गर्नु पर्यो । र, समस्या समाधान गर्नु पर्यो । चिसोपन राख्न भएन । कायर मन पनि राख्नु भएन । त्यो कातरपन, चिसो मन, भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यू राख्न नसक्ने अनि बोल्न नसक्ने । त्यो खालको हुनु भएन । मित्रसँग मित्रतापूर्ण ढंगले खुला कुरा गर्नु पर्यो ।’
उनले थपे, ‘छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीज्यूले कसरी लिनु भएको छ ? सम्बन्ध संचालन मित्रवत छ कि छैन ? राष्ट्रिय हितको जेन्यून इस्यूहरु खुलस्त राख्नु भएको छ कि छैन ? राख्ने गर्नु भएको छ कि छैन ? समस्याका कारणहरु र समाधानका विषयहरुबारे कुरा गर्नु भएको छ कि छैन ? समस्या छन भन्ने कुरा राख्नु भएको छ कि छैन ? लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ ? के छ त्यहाँ ? सीमा सुरक्षित नै छ ? अस्ती मैले एक ठाउँमा बोले –हाम्रो भूगोग अलिकति खुम्चियो भनेर । एउटा मिडिया टेलिभिजनले त यतिसम्म भन्यो कि जे पायो त्यही बोलेर हिँडने केपी ओलीलाई किन जेल हालिदैन भनेर । देशको पक्षमा बोलेको हुनाले किन जेल हालिदैन भन्यो । चीनमा भएको भए फाँसी दिइन्थ्यो, गोली ठोकिन्थ्यो । यहाँ किन बोल्न दिइएको छ भन्यो ।’
मैले देशको सवालमा बोल्दा यसो भनिएको ओलीको दावी छ । तर ओलीलाई जेल हाल्ने कुरा झापा ओलीसमेतबाट हत्या गरिएका धर्मराज ढकालको विषयलाई थियो । उक्त हत्याकाण्डमा आफूलाई १० बर्ष जेल साजय भए पनि तत्कालिन सत्ताले थप चार बर्ष बिनाकारण जेलमा राखेको उनले सुनाए । ओलीले देशको सीमाको बारेमा बोल्दा र यथार्थ कुरा बोल्दा जेल हाल्ने कुरा गरिएको भन्दै विषयान्तर गरे ।