Advertisement

काठमाडौं । एसईई परीक्षाको नजिता नै नआई उच्च माध्यमिक विद्यालयहरुको संगठनले बिहीबारबाट सुरु गरेको ‘हिसान शैक्षिक मेला’ र भर्ना अभियान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बन्द गरिदिएका छन् । आजै बिहान सभामुख देवराज घिमिरेले उक्त मेलाको उदघाटन गरेका थिए । 

विवादका बीच राजधानीको भृकुटीमण्डपमा आजबाट सुरु गर्न लागिएको मेलामा महानगरको सुरक्षा टोली पुगेर मेला बन्द गराएको हो । एसईईको नजिता नआई विद्यार्थीहरुलाई भर्ना गर्ने र शैक्षिक मेलाका नाममा पैसा उठाउने काम गर्न नदिन नगरवासीहरुले महानगरलाई आग्रह गरेपछि बालेनले कारवाही गरेका हुन् । 

Advertisement

बालेनको यो कारवाहीलाई क्रान्तिकारी कदमको रुपमा लिइएको छ । यो मेलामा एक ठूला मिडिया हरेक बर्ष हावी हुँदै आएको थियो । उसले उच्च माध्यमिक विद्यालयहरुबाट हरेक बर्ष करोडौं रकम उठाउने गरेको थियो । 

बालेनको कदमले धेरै अभिभावक र विद्यार्थीहरुलाई राहत मिल्नुका साथै बिद्यार्थी तान्ने नाममा भइरहेको अनधिकृत कार्य समेत निरुत्साहित हुने भएको छ । कारवाही गर्ने क्रममा काठमाडौं महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेले नजिता नआई भर्ना गर्ने, छुट र छात्रवृत्तिका कुरा गर्ने, विद्यार्थीहरुलाई बोलाएर दुःख दिने कुरा गैरकानुनी भएको बताए । 

उनले यस्तो मेला गर्न पाइँदैन् भन्दै आजैबाट मेला रोक्किएको बताए ।

Advertisement

Advertisement