बिहानै हेलम्बु पुगेका प्रम दाहालले भने– मेलम्ची उद्घाटन गर्दा आउने इच्छा थियो, पाइएन्

Advertisement

हेलम्बु । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । 

आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार बिहानै छोरी गंगालाई लिएर सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुगेका उनले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने बताए । 

Advertisement

दाहालले भने, ‘आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो । त्यतिबेला म प्रधानमन्त्री थिइन् । खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो । आयोजनालाई व्यवस्थित बनाउन म पहल गुर्छ ।’ 
     
मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउँदै उनले थपे, ‘यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ । थप बजेटको प्रबन्ध गर्छौँ । बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।’     
     
प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताए । उनले भने, ‘मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो । त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ । 
     
सो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराएका थिए । उनले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताए । 
     
दाहालको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य मन्त्री तथा सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेत पनि सहभाथी थिए । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । 

वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । 

Advertisement

Advertisement