पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले आज बुधबार बिहान ९ः०६ बजे पोखरामा पहिलो चार्टर उडान गरेको हो । 

चीनकै अनुदान तथा ऋण लगानीमा निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडानहरु नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चिन्ता प्रकट भइरहेको थियो । सिचुवान एयरलाइन्स अवतरण गरेसँगै उक्त जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो । 

Advertisement

बिहान चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १३० जना यात्रु थिए । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु पनि बोकेर आएको थियो । 

अध्यक्ष तिमिल्सिनासहित सात जना सांसद, जेठ २७ गते चीन भ्रमणमा गएका थिए । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।

पहिलो अन्तर्राष्ट्रिय विमान आएसँगै पोखरामा विशेषगरी पर्यटन व्यवसायीहरु बढी खुशी भएका छन् । यो विमानस्थल गत पुस १७ बाट औपचारिक सञ्चालनमा आएको हो । 

Advertisement

Advertisement