काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार नगद, द्वितीय पुरस्कार रु. ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई रु. १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली छन् ।
प्रेस चौतारीले मदन भण्डारीको जन्मजयन्तीमा हरेक बर्ष असार १४ मा विविध कार्यक्रम आयोजना गर्दै आएकोमा यस पटक टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको संयोजक प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमल उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन् ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवा पुस्तासँग जोडेर समृद्ध नेपालः सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टीकटक प्रतियोगिता आयोजना गरिएको बताए ।