आज धान दिवस (असार १५) मनाइँदै गर्दा देशभर मनसुन सक्रिय

Advertisement

काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।     
     
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।     
     
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।     
     
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।     
     
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।     
     
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।     

असार १५ मनाइँदै गर्दा देशभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   
     
उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा भारी र मध्यम वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । मध्य तथा पश्चिम भागमा मेघगर्जन र चट्याङसहित भारीदेखि भारी वर्षाको सम्भावना छ ।     
     
भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जन÷चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement