मारुती सिमेन्टबाट बनाएको घर भत्किएको घटनाबारे गुणस्तर विभागबाट पनि अनुसन्धान

Advertisement

काठमाडौं । प्रहरीले मारुती सिमेन्टका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले अनुसन्धान सुरु गरेको छ ।

सप्तरीका पत्रकार दिवाकर साहले मारुतीको गुणस्तरहीन सिमेन्टको कारण आफ्नो घरको ढलान भत्किएको भन्दै मुद्दा दायर गरेपछि मारुती सिमेन्टका सञ्चालकहरु विरुद्ध पक्राउ पुर्जी काटिएको छ । 

Advertisement

जिल्ला प्रहरी कार्यालय सप्तरीले कम्पनीका सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक अनुज राठी कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, सिमेन्ट डिलर सञ्जय साह, बिक्रेता नरेश साह र अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । 

कम्पनीका व्यापार निर्देशक ज्योति शर्मा भने पक्राउ परिसकेका छन् । पत्रकार साहले आफूले निर्माण गरिरहेको घर भत्किएको भन्दै बनाइएको भिडियो रिर्पोट अहिले भाइरल भएको छ । भिडियोमा घर ढलान गर्दा सिमेन्टक कारण मसला नअडिएको, ढलान पनि सजिलै उक्किएको देखाइएको छ । 

उजरी परेर पक्राउ पुर्जी जारी भएपछि मारुती सिमेन्ट कम्पनीले आफ्ना इन्जिनियरहरुलाई खटाएर यस घटनाको अनुसन्धान पनि सुरु गरेको छ । आफूहरुले उजुरीकर्ताको घरमै पुगेर अध्ययन गरेको कम्पनीका एक प्रतिनिधिले बताए ।

कम्पनीसँगै गुणस्तर तथा नापतौल विभागले पनि यस घटनाको अनुसन्धान सुरु गरेको छ । विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले भनिन् ‘हामीलाई कतैबाट पनि औपचारिक जानकारी आएको छैन् । सञ्चारमाध्यमबाट नै थाहा पाएर आन्तरिक अध्ययन सुरु गरेका छौं । सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गछौं । दोषी भेटिए उद्योगलाई कारवाही पनि गछौं ।’

Advertisement

Advertisement