हाम्रो ४० अर्ब भुक्तानी बाँकी छः निर्माण व्यवसायी, सचिवहरु त १५ अर्ब मात्रै भन्छन्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको टोलीसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताएका हुन् । 

निर्माण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको पौडेलले बताए । उनले सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको बताउँदै उनले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको बताए । 

Advertisement

मन्त्री पौडेलले सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने बताए । उनले निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने बताए । पौडेलले भने,  ‘निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस् । निर्माणसँग जोडिएका समस्या समाधान सरकार लाग्छ । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछौ ।’ 

उनले थपे, ‘निर्माण क्षेत्रमा ठूलो समस्या छ । निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैन । समस्या समाधान गरेर अघि बढ्छ । भुक्तानी समाधान गर्ने छलफल गरिरहेका छौँ । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपियाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ ।’

भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा राख्न माग गरे । उनले त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग गरे । 

भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिनुपर्ने बताउँदे सिंहले स्रोत सुनिश्चितता नभएका आयोजना अगाडि बढाउन सम्बन्धित मन्त्रालयले समन्वय गर्नुपर्ने बताए । उनले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरण गर्न माग गरे । 

Advertisement