सडक कालोपत्रेमा लक्ष्यअनुसार भएन काम, पुल र नयाँ सडक निर्माण भने बढी

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०-८१ मा राष्ट्रिय राजमार्ग अन्तरगतका ७५६ किमी सडक कालोपत्र भएको छ । सडक बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । दुई लेन र दुई लेन भन्दा बढीका गरेर सो बराबरको सडक कालोपत्रे भएका हुन् । 

त्यसमा दुई लेनका सडकतर्फ ६७५ किमी सडक कालोपत्रे भएको छ । गत आवमा ८०० किमी यस्तो सडक कालोपत्रे गर्ने लक्ष्य थियो । तर, आर्थिक बर्षान्तसम्म आउँदा लक्ष्यको ८४.३८ प्रतिशत यस्तो सडक कालोपत्रे भएको छ । 

Advertisement

यस्तै, दुई लेन भन्दा माथिका सडकको कालोपत्रेमा भने लक्ष्यको ५१.९३ प्रतिशत मात्रै प्राप्ती भएको छ । गत आवमा १५६ किमी यस्तो सडक कालोपत्रे गर्ने लक्ष्य थियो । तर, आर्थिक बर्षान्तसम्म आउँदा ८१ किमी मात्रै सडक कालोपत्रे भएको बिभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै, सडक ग्राभेलमा पनि लक्ष्यको ८२ प्रतिशत काम भएको छ । गत आवमा ४०० किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएको थियो । तर, आर्थिक बर्षान्तसम्म आउँदा ३२८ किमी सडक ग्राभेल गरिएको छ । 

निर्माण क्षेत्रमा देखिएको शिथिलता र सरकारले समयमा भुक्तानी दिन नसक्दा पनि यस्तो समस्या आएको विभागको भनाइ छ । प्रवक्ता उमेश विन्दु श्रेष्ठले नयाँ सडक र पुल निर्माणमा भने लक्ष्य भन्दा बढी काम भएको बताए । समग्रमा गत आवमा सडक तथा पुल निर्माणको प्रगति सन्तोषजनक रहेको उनको भनाइ छ । 

गत आवमा बिभागले १५० किमी नयाँ सडक खन्ने लक्ष्य लिएको थियो । आर्थिक बर्षान्तसम्म आउँदा १६७ किमी नयाँ सडक खनिएको छ, यो लक्ष्यको १११.३३ प्रतिशत हो । 

यस्तै, पुल निर्माणमा पनि लक्ष्य भन्दा बढी काम भएको छ । गत आवमा बिभागले १५० वटा पुल बनाउने लक्ष्य लिएको थियो । आर्थिक बर्षान्तसम्म आउँदा २०२ वटा पुल बनेका छन् । यो लक्ष्यको १३४।६७ प्रतिशत हो ।

सडक मर्मतमा भने लक्ष्यको २६०.४० प्रतिशत नै प्रगति भएको देखिन्छ । गत आवमा बिभागले २५० किमी सडक आवधिक मर्मत गर्ने भनेको थियो । आर्थिक बर्षान्तसम्म आउँदा ६५१ किमी सडकको आवधिक मर्मत भएको छ ।
 

Advertisement