वायुसेवा कम्पनीहरुले एक वर्षअघिको कारोबारमा करकट्टि गर्न पाउने

Advertisement

काठमाडौं । वायुसेवा कम्पनीहरुले एक वर्षअघिको कारोबारमा करकट्टि गर्न पाउने भएको छ । कम्पनीहरुले भ्याट (मूल्य अभिवृद्धि कर)मा दर्ता भएपछि विवरण बुझाई करकट्टि गर्न पाउने भएका हुन् ।

भ्याटमा हुने कम्पनीले कार्यालय प्रयोजन या अन्य प्रयोगजनको लागि खरीद गरेको वस्तु तथा सेवामा लाग्ने भ्याट रकम कट्टि गर्न पाउने छन् । भ्याटमा दर्ता भएपछि मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नुपर्ने कर दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मको कट्टि गर्न पाउनेछ । 

Advertisement

यस्तो कर कट्टि दावी गर्नको लागि दर्ता भएको १५ दिनभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची १६ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार अब वार्षिक एक करोड रुपियाँभन्दा बढी कारोबार गर्ने कम्पनीले प्रत्येक महिनाको २५ गतेभित्रै विवरण बुझाउनुपर्नेछ । यदी वार्षिक एक करोड रुपियाँभन्दा कम कारोबार छ भने ४–४ महिनामा विवरण बुझाउन पनि सकिने छ ।

अधिकाँश कम्पनीहरु भ्याटमा दर्ता भइसकेका छन् । भ्याटमा दर्ता नहुने कम्पनीले साउन ११ गतेसम्म भ्याटमा दर्ता भइसक्नुपर्ने विभागको भनाई छ । कानुन अनुसार विभागले सूचना निकालेको ३० दिनभित्र भ्याटमा दर्ता भइसक्नु पर्ने नियमन छ । विभागले गत असार ११ गते सूचना प्रकाशित गरेको थियो ।

हवाई यातायात सेवा प्रदायकले भ्याटमा दर्ताको लागि दरखास्त दिनुपर्नेछ । विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।

यस्तै ट्राभल एजेन्सीले टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा १३ प्रतिशत भ्याट जोड्नु पर्नेछ।

हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेमा सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बिजक जारी गर्नुपर्नेछ । हवाई यातायात सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिशन रकममा हवाई सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बिजक जारी गर्नु पर्नेछ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य भ्याट हिसाब गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जँहासुकैबाट जुनसुकै माध्यम (अनलाइनसमेत)ंबाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एअरलाइन्स कम्पनी)ले सो हवाई टिकटको मूल्यमा भ्याट सङ्कलन गर्नुपर्नेछ ।

दुवै तर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा भ्याट सङ्कलन गर्नुपर्ने छैन् । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा भ्याट असुल गर्नुपर्ने छैन् ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बिजक जारी गर्न स्वीकृति लिनुपर्दैन् । तर विद्युतीय बिजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिनुपर्नेछ ।

भ्याट लागू हुनुभन्दा पहिला हवाई टिकट बिक्री भएको तर भ्याट लागू भएपछिको मितिमा यात्रा गर्नेको हकमा भ्याट असुल गर्नुपर्ने छैन् । तर त्यस्तो विवरण सम्बन्धित कार्यालयमा दिनु पर्नेछ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले रकम फिर्ता पाउने भएमा बिक्री फिर्तामा देखाई हिसाब मिलान गर्नुपर्ने छ । कुनै कारणवस खरिद भएका हवाई टिकट फिर्ता गर्नुपर्ने भएमा खरिद फिर्तामा देखाई हिसाव मिलान गर्नुपर्नेछ । हिसाव मिलान प्रयोजनका लागि मूल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम डेविट–क्रेडिट नोट जारी गर्नुपर्दछ ।

हवाई यातायात सेवामा लाग्ने भ्याटसम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२, मूल्य अभिवृद्धि कर नियमावली, २०५३ र मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ मा भएका प्रावधान आकर्षित हुनेछन् ।

Advertisement

Advertisement