वर्षमा एक करोड रुपियाँसम्म कारोबार गर्नेले अब आयकर तिर्ने थप समय नपाउने

Advertisement

काठमाडौं । वर्षमा एक करोड रुपियाँसम्म आर्थिक कारोबार गर्ने निजी कम्पनी तथा फर्मले अब समयमा नै आयकर तिर्नुपर्ने भएको छ ।

प्रायः सबैखाले व्यवसायको आयकर दाखिला गर्ने समयमा अतिरिक्त तीन महिनासम्मको सुविधा प्रदान गर्ने व्यवस्था रहेकोमा एकै पटक भार बढ्न गई समस्या आएको भन्दै आन्तरिक राजस्व विभागले आयकर दाखिला गर्ने छुट समयमा परिवर्तन गरेको हो । 

Advertisement

विभागले कारोबारका आधारमा थप समय दिने र नदिने व्यवस्था गरेको छ । आयकर दाखिलाको समयसीमा तोक्ने सम्बन्धमा २०८१ असोज ४ गते बसको विभागको बैठकले तीन वर्गमा विभाजन गर्ने निर्णय गरेको हो । 

पहिलो वार्षिक एक करोड रुपियाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने, दोस्रो वार्षिक २५ करोड रुपियाँसम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुने र तेस्रो वार्षिक २५ करोड रुपियाँभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने विभागले जनाएको छ ।

हाल आयकर ऐन,२०५८ को दफा ९६ (१) अनुसार प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रही सो वर्षको आयविवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ । 

सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । 

तर, उल्लेखित व्यवस्था बमोजिम विभागको कम्प्यूटर प्रणाली (इन्टरग्रेटेड ट्याक्स सिस्टम)मा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने विद्यमान व्यवस्थाले वित्तीय विवरण तयार गर्नु नपर्ने डे ०१ आय विवरण र डे ०२ आय विवरण दाखिला गर्ने करदाताहरु र कारोवार नभएका निकायहरुले पनि म्याद थप लिने गरेकोले एकैपटक पुस मसान्तमा विभागको कम्प्यूटर प्रणालीमा बढी भार पर्न गएको हुँदा आय विवरण दाखिला गर्ने म्याद थपका सम्बन्धमा थप व्यवस्था गरिएको विभागले कारण जनाएको छ । 

Advertisement

Advertisement