मनमैजु महिला विद्यालयका विद्यार्थी भन्छन्– रुखबिरुवाले पनि सास फेर्छ भन्ने थाहा पाइयो

Advertisement

काठमाडौं । शिक्षाको अवसरबाट बञ्चित महिलाहरुका लागि मनमैजु महिला विद्यालय एउटा उदाहरण बनेको छ । विद्यालय पढ्दै नपढेका र पढ्दापढ्दै छोडेका महिलाहरुले ज्ञान हासिल गर्ने माध्यम बनेको यो विद्यालय गुठीमार्फत २०६४ सालमा स्थापना भएको हो । 

सुरुमा कक्षा १ देखि ५ सम्मका कक्षा सञ्चालन भएकोमा अहिले कक्षा सातसम्म यो विद्यालयमा पढाई हुन्छ । विद्यालय नगर शिक्षाको अनुदानमा चल्र्दै आएको छ । यसलाई सरकारीस्तरमा लैजाने पहल पटक पटक भए पनि विभिन्न कारणले संभव हुन नसकेको विद्यालयकी प्रध्यानाध्यापक कल्पना सापकोटाले बताइन् । 

Advertisement

मनमैजु विद्यालय जम्मा १० आना क्षेत्रफलमा फैफिएको छ । सुरुमै गुठीमा दर्ता भएकाले सरकारी बनाउन नमिल्ने बहाना जिल्ला शिक्षा कार्यालयले गर्दै आएको बताउँदै उनले यद्यपि आफूहरुले पहल नछोड्ने बताइन् । सापकोटा विद्यालय स्थापनादेखि नै कार्यरत छिन् । 

मनमैजु विद्यालयमा पढेका केही विद्यार्थीले एईई परीक्षा समेत दिइसकेका छन् । अहिले विद्यालयमा ८१ जना महिला अध्ययनरत छन्, १९ वर्षका युवतीदेखि ७१ वर्षीय वृद्धासम्म समेत पर्छन् । यहाँ पढ्न सुरु गर्न कुनै समयको छेकबार छैन् । बर्षको बाह्रै महिना भर्ना खुल्ला हुने गर्छ ।

महिलारुलाई  घरधन्दा गरेर पढ्न कुनै पनि असहज नहोस् भनेर बिहान ११ बजेदेखि ४ बजेसम्म पढाउने व्यवस्था गरिएको छ । सापकोटाले भनिन्, ‘शिक्षालाई उमेरले छेक्दैन् । जहाँ इच्छा, त्यहाँ उपाय हुन्छ भन्ने कुराको एक उदाहरण प्रस्तुत गरेका छन् महिला विद्यार्थीहरुले । घरायसी र अरु समस्याका बीच पनि महिलाहरुले पढ्न देखाएको अग्रसरतले आनन्द लाग्छ ।’ 

हाल मनमैजु विद्यालयमा पाँच जना शिक्षिका र एक शिक्षक छन् । विद्यालय व्यवस्थापनदेखि पालेले बजाउने घण्टी पनि प्रध्यानाध्यापक सापकोटा नै बजाउँछिन् । कक्षा १ देखि ७ सम्म उनी पनि पढाउँछिन् । विगतमा विद्यालयले एक सय रुपियाँ भर्ना शुल्क र ५५ रुपियाँ मासिक शुल्क लिँदै आएकोमा नयाँ शैक्षिक वर्ष २०८० सुरु भएदेखि विद्यार्थीको राजीखुशीमा नै शुल्क बढाइएको उनले बताइन् । अहिले भर्ना शुल्क तीन सय र मासिक शुल्क दुई सय रुपियाँ कायम गरिएको छ । शिक्षक शिक्षिकाको पारिश्रमिक साह्रै न्यून भएकाले शुल्क बढाउनुपरेको सापकोटाको भनाई छ । 


शिक्षक सुशील तिमल्सिनाले पढ्नेहरु प्रायः आमा उमेरका महिला भएकाले पढाउन र सिकाउन धेरै समय लाग्ने गरेको बताए । एउटा विषय पढाउन १० दिनसम्म लाग्ने गरेको उनले अनुभव सुनाए । बाहिर क्याम्पसमा समेत अध्यापन गराउँदै आएको तिमल्सिनाले भने, ‘बच्चालाई जस्तो गाली गर्न पनि मिल्दैन् । महिलाहरुलाई बुझाउन निकै कठीन हुन्छ ।’ 

सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत ५१ वर्षकी ज्ञानुकुमारी अर्यालले पढ्ने अवसरले धेरै कुरा सिक्ने मौका मिलेको बताइन् । उनले भनिन्, ‘शिक्षा लिनुअघि बाहिरी आँखाले मात्र संसार देखेको थिएँ । अहिले धेरै कुराको ज्ञान पाएको छु । रुखबिरुवाले सास फेर्ने कुरादेखि हरेक कुराहरु सिक्ने मौका मिलेको छ । पढेर सरकारी जागीर खाउँला भन्ने त छैन् । आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो ।’  

सात कक्षाकी २५ वर्षीया अनु लामाले घरको जिम्मेवारीले गर्दा पहिला पढ्न नपाएको गुनासो गरिन् । उनले अबदेखि जस्तोसुकै परिस्थितिमा पनि पढाइलाई निरन्तता दिने र राम्रो जागीर खाने इच्छा व्यक्त गरिन् । 

धादिङकी ६४ वर्षीया लाक्ष्मीदेवी उप्रेती कक्षा ३ मा अध्ययनरत छिन् । उनले विद्यालयमा गएसँगै मोबाइलबाट फोन गर्न, अस्पतालको बिल हेर्न र आफ्ना नाम लेख्न सक्दा निकै खुशी लागेको बताइन् । उप्रेतीले अब एक्लै हुँदा कथाका किताबहरु पढ्न सके एक्लोपन नहुने बताइन् । 

Advertisement