सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीद्धारा आन्दोलन घोषणा

Advertisement

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । 

आईतवार पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअन्तर्गत साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाउने, साउन ९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । 

Advertisement

साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित सरकारी निकायमा आफ्ना मागहरुको सम्बन्धमा जानकारी गराउने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले बताए । 

त्यस्तै आफ्ना मागहरु पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने दाहालले बताए । उनले साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने निर्णय गरेको पनि बताए । 

महासचिव दाहालले दोस्रो चरणको आन्दोलनलाई पनि सरकारले बेवास्ता गरी निर्माण व्यवयासीहरुको पैसा भुक्तानी नगरे साउन १६ गते निर्माण उपकरणसहित राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताए । 

राजश्व नउठेको भन्दै सरकारले निर्माण व्यवसायीको अर्बौं रुपियाँ भुक्तानी दिएको छैन् । साथै, महासंघले सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभइ काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्तारको आधारमा अन्त्य गर्नुपर्ने लगायतका नौ बुँदे माग पनि राखेको छ । 

Advertisement

Advertisement