कर्णाली प्रदेशमा प्रहरी श्रीमती संघले गर्यो विभिन्न कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत विद्यार्थीहरूलाई  शैक्षिक सामाग्रीहरु वितरण गरेकी छिन् ।  

आज पुलिस स्कुलमा अध्यनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई एक समारोहबीच शैक्षिक सामाग्री वितरण गरेकी हुन् । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, स्कूलका समादेशक प्रहरी निरीक्षक देवराज पौडेल, प्रधानाध्यापक सुनिल देवकोटा लगायतको उपस्थिती रहेको थियो । शैक्षिक सामग्री वितरणले बालबालिकाहरूलाई प्रोत्साहन मिल्ने र पढाईमा थप रुचि बढ्ने कुरा अध्यक्ष ढकालले बताइन् ।  

Advertisement

त्यसैगरी गत शुक्रबार मात्र गठन भएको श्रीमती संघ कर्णाली प्रदेशले ६ गते सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको थियो । उक्त शिविरमा  स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नि, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएको उक्त शिविरमा ७९६ जना  स्थानिय नागरिकले सेवा प्राप्त गरेका थिए । 

त्यसैगरी गत आइतबार श्रीमती संघद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम समेत गरिएको थियो । जीवन स्वस्थ रहको लागि वातावरण स्वच्छ रहनु अपरिहार्यता हो, कर्णाली प्रदेशको ठुलो धार्मिक महिमा बोकेको यस देउती बज्यै मन्दिर वरिपरि रहेको फोहोरहरू सफा गर्दा वातावरण स्वच्छ हुने, सौन्दर्यकिकरण बढ्ने र पर्यटन पर्वद्धनमा समेत मद्दत पुग्ने कुरा श्रीमती संघकी अध्यक्ष ढकालले बताइन् ।

अध्यक्ष ढकालले सुर्खेत जिल्लामा रहेका अमर, पूर्व एवं बहालवाला प्रहरी परिवारसंग अन्तरक्रिया गरेकी थिइन् । कार्यक्रममा प्रहरी परिवारको उत्थान एवम् वृत्ती विकासका लागि आय आर्जनमूलक सिपयुक्त तालिम संचालन गर्ने, व्यवसाय उन्मुख सहुलियत ऋण तथा शैक्षिक छात्रवृत्ती प्रदान गर्ने र भावि योजनाहरूको सम्बन्धमा अन्तरक्रिया तथा छलफल गरिएको थियो । 

आगामी दिनहरुमा कर्णाली प्रदेशभित्र महिला सशक्तिकरणलाई मूर्त रुप दिनुका साथै विभिन्न सिपमुलक, आय आर्जन र सिर्जनात्मक एवम् जनहित तथा सचेतना अभिवृद्धिका कार्यहरु निरन्तर गर्ने अध्यक्ष ढकालले उल्लेख गरिन् । 

Advertisement

Advertisement