‘बुक फ्रि फ्राइडे’ नहटाउन सामुदायिक विद्यालयका विद्यार्थीहरुको महानगरलाई आग्रह

Advertisement

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीहरुले ‘बुक फ्रि फ्राइडे’ नहटाउन काठमाडौं महानगरपालिकासँग आग्रह गरेका छन् । 

बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी विद्यालय निरीक्षणका क्रममा शुक्रबार कक्षा कोठामा पुग्दा यस्तो आग्रह गरेका हुन् । 

Advertisement

‘बुक फ्रि फ्राइडे’कार्यक्रम सञ्चालन नगरे तपाईंहरुलाई फरक पर्छ ? भनेर अधिकारीले सोध्दा विद्यार्थीहरुले भने आफूहरुयो कार्यक्रम निरन्तर चाहिने बताए । उनीहरुले किताव पढेको दिनमा भन्दा शुक्रबार आफूहरुले धेरै कुरा सिक्ने मौका पाउने गरेको बताउँदै यसलाई नहटाउन आग्रह गरेका हुन् । ‘सर यसलाई नहटाइदिनु ल’ विद्यार्थीहरुले अधिकारीलाई भने । 

विद्यालयका कक्षा कोठाहरुमा शिक्षकहरु अतिरिक्त क्रियाकलाप गराउन व्यस्त थिए । कक्षा ८ का विद्यार्थीहरु प्रस्तुतीकरण सीपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरु आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरुको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरुमा हाजिरी जवाफ, श्रुतिलेखन, शव्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गरेका थिए । ‘घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन् । अब ती जिज्ञासाहरु शुक्रबारका कक्षामा सोध्नु’ अन्तरक्रियाका क्रममा अधिकारी भन्छन्  ‘अरु दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

अधिकारीले विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने बताए । उनले भने, ‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्न ।’

विद्यालयहरुमा सिपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनुपर्ने बताए ।
 
बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षा कोठाहरुमा सजावट गरिएको छ । फर्निचरहरुमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।

Advertisement

Advertisement