ललितपुरको छम्पीमा विश्वकै अग्लो भैरवको मूर्ति बन्दै, सक्दो सहयोग रहने मुख्यमन्त्री लामाको प्रतिवद्धता

Advertisement

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले  ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको सुन्दा खुशी लागेको बताउँदै मुख्यमन्त्री लामाले आर्ट भिलेजले प्रविधिलाई समेत प्रयोग गरेर कला क्षेत्रलाई बिक्री गर्न सक्नुपर्ने र विदेशबाट डलर आम्दानी गर्नुपर्ने बताए ।

Advertisement

मुख्यमन्त्री लामाले यस परियोजनामा बागमती प्रदेशले केकस्तो सहयोग गर्न सकिन्छ, छलफल गरेर सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो परियोजना नेपाल आर्ट भिलेजको मात्रै नभएर अब बागमती प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ हुनुपर्ने बताइन् । सोही अवसरमा बज्राचार्यले आर्ट भिलेजलाई नमूना परियोजनाका रूपमा अगाडि बढाउन सकिएमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने समेत बताइन् । 

प्रदेशका सबै तह मिलेर यस परियोजनालाई सफल बनाउनु लाग्नुपर्ने बताउँदै उनले यस परियोजनालाई ललितपुर महानगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाईन् । 

नेपाल आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्यले नयाँ पुस्तालाई परम्परागत कला, हस्तकला लगायतको जगेर्ना गर्ने र चिनाउने तथा नेपाली युवालाई कला संस्कृतिलाई जोगाइराख्नका लागि यो परियोजनाले विशेष भूमिका खेल्ने बताए ।  सत्यमोहन जोशी स्मृति पार्कमा समेत आर्ट भिलेजको सहयोग रहने उनले बताए ।

२०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ भैरवको मूर्ति निर्माण कार्य भइरहेको नेपाल आर्ट भिलेजका संस्थापक एबम प्रबक्ता रुपक मान महर्जनले बताए । यो मुर्ती विश्वकै अग्लो भैरवको मूर्ति हुने र यसले बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने महर्जनले बताए । एक दिनमा १ हजार २ सयभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

म्युजियम, साहसिक खेल, भोजनालय, वनस्पति उद्यान लगायत समेत सो परियोजनामा निर्माण हुने उनले बताए । यस सम्पदा ग्राम क्षेत्रले नेपालको मौलिक कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा विस्तार समेत गर्ने उनको विश्वास छ ।

आर्ट भिलेजको यस अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा राखिएको उनले बताए । उनले सहुिलयतपूर्ण ऋण, सडकमार्ग तथा पानीको पहुँचका लागि सरकारले साथ दिनुपर्नेमा उनले जोड दिए ।

ललितपुर गोदावरीको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको नेपाल आर्ट भिलेज निर्माण हुँदैछ । प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा सन् २०१७ मा जग्गा एकीकरण गरी सुरु भएको यस परियोजनाको सन् २०२० मा शिलान्यास गरिएको थियो । तर कोरोना  महामारीको समस्याका कारण केही समय सुस्ताएको परियोजनाअन्तर्गतको भैरवको मुखाकृती निर्माण अहिले तीव्र गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement