विदेशमा अध्ययनका लागि विद्यार्थीहरुलाई पठाउने शैक्षिक परामर्श व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका शेषराज भट्टराई विगत डेढ दशकदेखि यस व्यवसायमा छन् । कोरोना महामारीपछि केही निष्क्रिय जस्तो बनेको इक्यानलाई सक्रिय बनाउनुपर्ने चुनौति उनीसामु छ । अर्बिट इन्टरनेशनल एजुकेशनका सञ्चालक रहेका भट्टराईसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः
विगतमा प्रकाश पाण्डेको कार्यकालमा त खासै काम भएको देखिन्न्र । तपाईंले चाहिँ कसरी के के काम गर्ने योजना बनाउनु भएको छ ?
विगतमा प्रकाश पाण्डेको कार्यकालमा काम नभएको भन्ने कुरा गतल हो । प्रकाश पाण्डे इक्यानका अध्यक्ष पदमा हुँदा म उपाध्यक्ष थिएँ । प्रकाश पाण्डेको साथ र सहयोगले नै मैले चुनाव जितेको हो । काम नभएको भए चुनाव जित्न गाह्रो थियो । हाम्रो एजेण्डाहरु जहिले पनि अन्तर्राष्ट्रिय शिक्षासँग सरोकार राख्ने, कुनै पनि विषयवस्तुमा सबैभन्दा पहिला परामर्श व्यवसाय क्षेत्रलाई नै अगाडी बढाउँदै लाने, नीतिगत तहमा व्यवसायिक कन्सल्ट्यान्सीहरुको तालिम र विकासका काम गर्ने गर्दै आएका थियौं । यस्ता धेरै विषय वस्तुहरुमा पनि पाण्डेको कार्यकालमा धेरै राम्रा काम भएका थिए । इतिहासमा धेरै काम भएकोमध्ये प्रकाश पाण्डेको कार्यकाल पनि हो । सोही कामहरुलाई अझै तीब्रता दिने अबको मेरो योजना छ । मैले तीन प्रकारले इक्यानलाई नेतृत्व गर्ने सोच बनाएको बताएको छु । पहिलो नीतिगतरुपमा राज्य र राज्यमा संयन्त्रहरुसँग मिलेर काम गर्ने र शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्श क्षेत्रलाई कसरी अनुमोदन गर्ने ? कसरी अगाडी बढाउने? भन्ने सन्दर्भमा जुन ढंगको काम हुनुपर्ने हो, त्यो काम भएको छैन् । नयाँ शिक्षा ऐनमा पनि विभिन्न विषय वस्तुहरु उठेका छन् । धरौटीका विषयवस्तुहरु आएको छ । यस विषय काम गर्ने योजना छ । दोस्रो स्वाभाविक रुपमा शैक्षिक परामर्श संस्थाहरुको व्यवसायिक विकासका कुरा अघि बढाउने हो । तालिम, सशक्तिकरण यस्ता धेरै कुराहरुको कार्यक्रममा जोडिने हो । यस्ता कार्यक्रमहरु मेरो कार्यकालभरी हुनेछ । इक्यानको केन्द्रमा मात्र नभएर, म अध्यक्ष भइरहँदा शाखाहरुको विषयमा पनि कन्सल्ट्यान्सीहरुको विकास कसरी गर्ने ? भन्ने कुरा अगाडी बढाउने छौं । कन्सल्ट्यान्सी भनेको सकारात्मक पक्ष हो भन्नेतर्फ लानुपर्छ । तेस्रो भनेको कन्सल्ट्यान्सीलाई कसरी जिम्मेवारी बनाउने ? कसरी यसको सेवा सरल र भरपर्दो बनाउने भन्ने सवालमा पनि म लाग्नेछु ।
इक्यान बढी व्यवसायिकभन्दा पनि राजनीतिक भयो, पार्टीकरण भयो भन्ने आरोप पनि छ । किन व्यवसायिक बनाउनुहुन्न ?
यो गलत आरोप हो । किन भने यस पटकको चुनावको नतिजाले पनि, मेरो चयनले राजनीतिक होइन्, एउटा व्यवसायिक व्यक्ति आएको छ भन्ने सन्देश दिएको छ । म आफैमा पनि एउटा ठूलो व्यवसायी हो । यो संस्थालाई संस्कार, बुझेको व्यक्ति चाहिन्छ भनेर साथीहरुले मत दिए र मैले जितेको हो । इक्यानको टिममा धेरै साथीहरु गैरराजनीतिक चरित्रको भएको हुँदा उनीहरुको छनोटमा व्यवसायिक, मर्यादित र न्यायोचित काम गर्ने, जोसँग फरक क्षमता छ, उसलाई नै जिताउने चेस्टा गरिएको हो ।
नेपाली विद्यार्थी बाहिर पठाउने कुराको पछिल्लो समयमा विरोध बढ्दै गएको छ । देशबाट युवाहरु र अर्बौं रकम बाहिर पठाउने कुरा रोक्नुपर्छ भन्ने आवाज आउन थालेको छ । के भन्नुहुन्छ ?
यो एकदमै संकुचित सोच हो । अहिले अन्तर्राष्ट्रिय शिक्षाको प्रचलन विश्वभरी नै छ । यस पृष्टभूमिलाई हामीले हेर्ने हो भने नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाका लागि जाने विद्यार्थीहरुको संख्या त्यति आत्तिनुपर्ने अवस्था होइन् । शिक्षा मन्त्रालयको तथ्याङ्कमा कोरोनाभन्दा पछि अलि बाहिर जाने विद्यार्थी बढेको देखिएको छ । राज्यको जीडीपी (कूल गार्हस्थ उत्पादन)लाई हेर्ने हो भने पाँच हजार दुई सय अर्बको जीडीपीमा शिक्षाका लागि ७०–८० अर्ब बाहिरिनुलाई ठूलो रुपमा हेर्नुपर्दैन् । विदेश पढ्न जाने विद्यार्थीले पठाएको रेमिटान्सले पनि आज देशलाइ जोगाएको छ । हालको परिवेशमा विदेश पढ्न जाने विद्यार्थीको कुरा गर्दा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान मुख्य हुन् । नेपाली विद्यार्थीहरु ठूला देशका ठाँउ ठाँउमा पुगेर उनीहरुले प्रगति गरिरहेका छन् । त्यसको श्रेय केही हामीलाई पनि जान्छ । एउटा विद्यार्थीले संसारको उत्कृष्ट विश्वविद्यालयमा सीप, कौशल र शिक्षा सिकेर देश विकासको लागि उपस्थित हुन्छ भन्ने कुरालाई राज्यले हल्का रुपमा लिनुहुँदैन् ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा विकास गरी विदेशी विद्यार्थी ल्याउन सकिन्न ?
नेपालको प्रशासक र शासकहरुको सोचाईमा परिवर्तन हुनुपर्छ । यदी यसो भएमा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा विकास गरी विदेशी विद्यार्थी ल्याउन नसकिने होइन् । केही विश्वविद्यालयमा विद्यार्थी नआएका होइनन् । नेपालमा विद्यार्थी भिसा लिएर पढन आउने विदेशीलाई हाम्रो देशले विद्यार्थी भिसा दिन सक्दैन् । नेपाललाई शिक्षामैत्री बनाउन पनि आग्रह गरेका छौं । खोज अनुसन्धान गर्ने संस्थाहरु नेपाल आउन आग्रह पनि गरेका छौं । कसैले पनि प्रतिक्रिया दिएको छैन् । नेपाली समाजलाई आजको दिनमा हेर्दा बुद्धको जन्मस्थलको रुपमा विश्वव्यापीरुपमा परिचित छ । सबैभन्दा ठूलो अनुसन्धानको पाटो नै नेपाल हुनसक्छ । सगरमाथा हिमालहरु, अर्गानिक खाद्यान्रलाई शैक्षिक पाटोबाट विश्व चिनाउन सकिन्छ । इक्यानले हरेक पटक विद्यार्थी मात्र बाहिर पठाउने होइन्, बाहिरबाट पनि विद्यार्थी ल्याउन सक्छन् भन्ने सन्देश सम्बन्धित् निकायसम्म पुराउँदै आएको छ । तर सुनिदिने कस्ले ?
पढ्नका लागि जाने मुलुकहरुमा नेपाली विद्यार्थीका लागि कस्तो वातावरण छ अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा ?
पढ्नका लागि जाने नेपाली विद्यार्थीका लागि धेरै राम्रा वातावरण छ । नेपाली विद्यार्थीहरुलाई धेरै कुराले सुविधा छ । कुनै कन्सल्ट्यान्सीले विद्यार्थीहरुलाई बाहिर पढाउन पठाउँदा विद्यार्थी र अभिभावकहरुलाई उचित परामर्श दिनुपर्छ । यसले गर्दा विद्यार्थीहरुलाई बाहिरी मुलुकमा दुःख पाउँदैनन् ।
अधिकांश विद्यार्थीको आकर्षण अष्ट्रेलिया नै बढी किन हुन्छ ?
अष्टे«लियामा संसारको उत्कृष्ट शैक्षिक प्रणाली छ । सीप विकासका लागि शैक्षिक शिक्षा रहेको छ । अर्को महत्वपूर्ण कुरा त्यहाँ पढ्दा काम पनि गर्न पाइने हुँदा अधिकांश विद्यार्थीको आकर्षण अष्टे«लियामा नै बढी हुने गरेको हो । सामाज चौंथो औद्योगिक क्रान्तितर्फ अघि बढेको छ । संसारका शैक्षिक प्रणाली र विकास धेरै माथि पुगिसकेको छ । हामी घोकन्ते विद्याले गर्दा धेरै पछानी छौं । अष्टे«लियाले विद्यार्थीको उमेर अनुसार क्षमता विकास गरी सीप सिकाउँछ ।
पछिल्लो समय अधिकांश कन्सल्ट्यान्सीको सक्सेस रेट हेर्ने हो भने राम्रो छैन् । कन्सल्ट्यान्सी भने बढेको बढ्यै छन् । किन होला ?
कन्सल्ट्यान्सीको सक्सेट रेट भन्ने हुँदैन् । इक्यानमा पाँच सय वटा कन्सल्ट्यान्सीको विषयमा बोल्न सक्छु । समग्र देशकै बारेमा हेर्ने हो भने नेपालबाट जाने विद्यार्थीहरु र गन्तव्य मुलुकहरुमा रहेको विद्यार्थीहरुको तथ्याङ्कले आजको दिनसम्म धेरै राम्रो प्रगति भएको देखिन्छ । क्यानडा अभूतपूर्व छ । अझै पनि नेपाली विद्यार्थीहरुलाई क्यानडाले भिसा दिएको छैन् । अमेरिका, जापान, बेलायत पनि राम्रो छ । अष्टे«लियाको हकमा थोरै विद्यार्थी तलमाथि हुनु भनेको स्वाभाविक नै हो । कोरोनापछि अष्टेलिया पढ्न जाने विद्यार्थीको संख्या बढेको छ ।
‘फेक डकुमेन्ट’ बनाएर प्रक्रिया गर्ने कुरामा कडाई भए पनि अझै रोक्किएको देखिन्न । यसलाई नियन्त्रण गर्ने तपाईंको योजना के छ ?
‘फेक डकुमेन्ट’को गुनासो वा समस्या आएमा हामी सम्बन्धित् निकायलाई कारबाहीका लागि सिफारिस गछौं । त्यस्ता कुराहरुलाई निरुत्साहित गर्ने गराउने काम गरिरहेका छौं । म महासचिव हुँदा यस्ता चिट्ठीपत्र आउँदा कारवाही पनि भएका छन् । यस्ता कुरामा विद्यार्थी, अभिभावक, कन्सल्ट्यान्सी पनि सचेत हुनुपर्छ ।
भिसा प्रक्रिया, छात्रवृत्ति, डकुमेन्टेशनको कुरामा धेरै खालको जटिलता र अन्योलता देखिन्छ विद्यार्थीमा । यसमा सहजीकरण गर्न इक्यानले के गर्दैछ ?
इक्यानसँग आवद्ध भएका शैक्षिक परामर्श सेवा प्रदायकहरुको हकमा राम्रोसँग काम गर्दै गएका छन् । प्रक्रियागत ढंगबाट वास्तविक विद्यार्थी र अभिभावकबीच क्षमता कति छ ? शैक्षिक प्रमाणपत्र र आर्थिक अवस्था कस्तो छ ? भन्ने कुरामा परामर्शदाताले बुझाउनुपर्छ । विद्यार्थी र अविभावक पनि सचेत हुनुपर्छ । वैदेशिक शिक्षा भनेको जोकोहीका लागि होइन् । कक्षा १२ सक्नासाथ बाहिर जानुपर्छ भन्ने मानसिकता हटाउनुपर्छ । नेपालमा कक्षा १२ पढेका विद्यार्थी ठूलो संख्यामा छन् । तीमध्ये सबैले बाहिर जान्छु भन्ने कुरा गलत हो । अभिभावकले ऋण खोजीखोजी विद्यार्थीलाई बाहिर पठाउनु पर्दैन् । क्षमता छ भने बाहिर पठाए हुन्छ । नेपालमा पनि गुणस्तरीय शिक्षा छ ।
गएको कोभिड महामारीका धेरै कन्सल्ट्यान्सी बन्द भए भन्ने सुनिन्थ्यो । कति बन्द भए ? संकटमा परेकाहरुलाई उठाउन इक्यानले केही पहल गर्यो कि गरेन् ?
कोरोना महामारीको समयमा नेपाल राष्ट्र बैंकले नै शैक्षिक परामर्श क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेको थियो । इक्यानले कोरोनाको समयमा के गर्न सकिन्छ ? व्यवसायी र उद्यमीहरुलाई कसरी साथ दिने ? कोरानाबीमा सबै कर्मचारीहरुलाई कसरी उपलब्ध गराउने ? भनेर काम गरेको थियो । परामर्श सेवा व्यवसायीहरुलाई कसरी सक्रिय बनाइराख्ने ? भनेर इक्यानले काम गर्दै आएको छ । इक्यानमा आबद्ध संस्थाहरु बन्द हुने घट्ना निकै कम छन् ।
यस पटक सरकारले विदेश जाने विद्यार्थीहरुलाई कर बढायो । यसमा तपाईंको विरोध छ कि समर्थन ?
सरकारले विदेश जाने विद्यार्थीहरुलाई कर बढाएकोमा हाम्रो विरोध छ । विद्यार्थीहरुको पैसामा तीन प्रतिशत कर बढाउनु भनेको विद्यार्थी र अभिभावकलाई मारमा पार्नु हो । सरकारले कर थोपर्न पाइँदैन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लोककल्याणकारी कोष बनाएर विद्यार्थीलाई अगाडी बढाउनुपर्ने हुन्छ ।
तपाईंको आफ्नो संस्था अर्बिटको अवस्था के छ ? विद्यार्थीहरुलाई सुविधा र आकर्षण के के दिनुभएको छ ?
अर्बिट इन्टरनेशनल एजुकेसन निकै पूरानो संस्था हो । नेपाली विद्यार्थीको हकमा जो बाहिर पढ्न जान्छन्, सही परामर्श र भाषा प्रशिक्षणको लागि हामीले काम गर्दै आएका छौं । यसको लागि दुई दशकको अनुभव छ । नेपाली समाजमा दुई दशकअघि पढ्न जाने भन्ने कुरा कल्पना मात्र थियो । दुवई, कतार जाने कुरा पनि निकै ठूलो थियो । त्यस बेलाको समयमा नेपाली विद्यार्थीहरु पनि बाहिर पढ्न जान सक्छन भन्ने ढंगबाट काम गर्दै गयौं । आजको दिनमा मध्यमवर्गीय व्यक्तिले पनि अष्ट्रेलिया र अमेरिकामा पढ्न जाने सपना देख्न सक्छ । त्यसमा अर्बिट जस्ता संस्थाहरुको ठूलो भूमिका छ । पचासौं हजारभन्दा बढी विद्याथीलाई परामर्श सेवा दिइसकेका छौं । पछिल्लो समय राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि क्षेत्रमा व्यवसायिक रुपमा हेर्ने हो भने पनि विदेशमा पढेर आएका नेपालीहरुले जुन प्रकारको योगदान देशलाई पुर्याएका छन्, त्यो आफैमा प्रसंशनीय रहेको छ । यसबाट व्यक्तिगत रुपमा म निकै सन्तुष्ट छु ।