काठमाडौं । निराशाजनक रहेको कक्षा १२ को नजितामा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या छ हजार ९७६ जना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नजितामा अंग्रेजीमा सबैभन्दा धेरै विद्यार्थी कमजोर र ए प्लस ल्याउनेको संख्या पनि निकै कम रहेको छ ।
नतिजाअनुसार ४९.०९ प्रतिशत विद्यार्थी अंग्रेजी विषयमा कमजोर देखिएका छन् । अंग्रेजी विषयमा ननग्रेडेड विद्यार्थीको संख्या एक लाख नौ हजार ५२७ जना छन् । दोस्रोमा लेखा (एकाउन्ट) विषयमा ५२ हजार ७३, सामाजिक अध्ययनमा ५१ हजार १०४ जना ननग्रेडेड छन् ।
बोर्डकाअनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६३७, आंशिकतर्फ ६० हजार ९५९, ग्रेड वृद्धितर्फ १४ हजार १३५ र २०७२ र ७३ को ग्रेडवृद्धितर्फ एक हजार १०६ जना गरी चार लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।
यीमध्ये नियमिततर्फका तीन लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये छ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस’ ल्याएको बोर्डको भनाई छ । त्यस्तै ३८ हजार ९९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए, ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७ जना विद्यार्थीले १.६१ देखि २ जीपीए ल्याएका छन् ।
ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । गत वर्ष एक लाख ८८ हजार ४१० जना अर्थात ५१.९० प्रतिशत विद्यार्थी ननग्रेडेड थिए भने यस वर्ष ४९.०९ प्रतिशत ननग्रेडेड छन् ।