ज्योति विकास बैंकद्वारा विभिन्न अस्पताहरुलाई बेबी वार्मर प्रदान

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो ।

Advertisement

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ५, शेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं ३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।

बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ । 

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । 

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।
 

Advertisement

Advertisement