काठमाडौँ । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरेको हो ।
कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली संघका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले गुठीका प्रतिनिधिलाई चेक हस्तान्तर गरेका हुन् । उनले कला र संस्कृतिको संरक्षण प्रवर्द्धन नभएसम्म मुलुक समृद्ध नहुने भन्दै यस कार्यमा सबै जुट्नुपर्ने खाँचो औँल्याए ।
काठमाडौँ उपत्यकाको नेवारी संस्कृति पर्यटनको उपज भएकाले कला र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रलाई योगदान दिन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष खिमलाल पौडेलले काठमाडौँ उपत्यकाको सम्भाव्यता विश्वकै समृद्ध सभ्यता रहेको भन्दै यसको जगेर्ना गर्न अहिलेको पुस्ताको ध्यान जानुपर्ने खाँचो औँल्याए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उमेशसिंह भण्डारीले देशको गौरवको रुपमा रहेको नेपाली भाषा, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा कम्पनीले भूमिका खेल्दै आएको विश्वास व्यक्त गरे ।
कम्पनीका सञ्चालक समिति सदस्य श्रीराम श्रेष्ठले समाजमा रहेका सबै जाती, धर्म र संस्कृति संरक्षणका लागि सबैको सक्रिय भूमिका चाहिने बताए । भिंद्योलाछी युथ क्लबका अध्यक्ष तरिकाजी अवालेले धिमैबाजामा मात्र नभई अन्य कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।