काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज सोमबार बिहान बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार नारायणचौर, नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयर ७१ हजार २ सय २२ जनाले १०–१० कित्ता पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट http://www.siddharthacapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://bhagawatihydro.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ।
कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर बिक्री गरेको हो । प्रतिशेयर रु. १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. ११६ मा आईपीओ निष्काशन खुला गरिएको थियो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।