‘बोर्ड अफ ट्रष्टी बनाउन सकियो भने ठूलो लगानी पनि नेपालमा भित्रिन्छ’

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय बनाउँछुः उपकुलपति बज्राचार्य

Advertisement

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति (भिसी) प्रा.डा. सुवर्ण बज्राचार्यले आफूमाथि ठूलो जिम्मेवारी आएको बताउँदै यस जिम्मेवारीलाई इमान्दारिता र सफलतापूर्वक निर्वाह गर्न आफू लाग्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘बुद्धिष्ट कम्युनिटिको मप्रति ठूलो विश्वास छ । विश्वविद्यालयका पूर्व भीसीहरुले पनि ‘काम गर्नसक्ने मानिस हो, तपाइँ आउनुपर्छ’ भनेर मलाई सुझाव र प्रेरणा दिनुभएको छ । सबैको विश्वास र मेरो अहिलेसम्मको अनुभव र क्षमता प्रयोग गरेर काम, विश्वविद्यालयलाई उठाउने काम गर्नुपर्ने छ ।’ 

Advertisement

बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विश्वभरका विद्यार्थीहरुको आकर्षणको थलो बनाउनुपर्ने छ भन्दै यसलाई आफूले चुनौति भन्दा पनि काम गरेर देखाउने अवसरको रुपमा लिएको बताए । उनले भने, ‘भगवान बुद्ध नेपालमा जन्मिनुभयो । त्यो हाम्रो लागि अहोभाग्य हो । तर गौतम बुद्ध नेपालको मात्रै होइन् । विश्वका लागि हो । लुम्बिनीलाई निश्चित घेराभित्र बाँध्न हुँदैन् । विश्वविद्यालयलाई पनि बाँध्न हुँदैन् । सबैका लागि खुला गर्नुपर्छ । सबैतिर छर्नुपर्छ । गैरबुद्धिष्ट मुलुकहरुमा पनि ।’

बुद्ध धर्म भने पनि वास्तवमा यो धर्म नभई मानव उन्नती, सुःख र शान्तिका लागि दिएको शिक्षा हो भन्दै डा. बज्राचार्यले भगवान बुद्धले आफ्नो मार्गमा लाग्नैपर्छ, नलागे पाप लाग्छ वा अर्को विचार राख्नेले आफ्नो विचार मान्न हुन्न नभनेको बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय बनाउने बताए । 

बज्राचार्यले निकै थोरै बजेटमा लुम्बिनी विश्वविद्यालय सञ्चालन भइरहेको बताउँदै जम्मा १५–२० करोड रुपियाँ बजेटमा विश्वविद्यालय चल्छ ? भनेर प्रश्न गरे । थुप्रै बुद्धिष्ट मुलुकहरुबाट समेत यस विश्वविद्यालयमा ठूलो लगानी ल्याएर बृहतरुपमा बुद्ध दर्शन र शिक्षाको विकासका लागि आफूले काम गर्ने उनले आफ्नो योजना सुनाए । डा. बज्राचार्यले भने, ‘यत्रो सम्पन्न बुद्धिष्ट कन्ट्रीहरु छन् । उनीहरुलाई यस विश्वविद्यालयको ट्रष्टी किन नबनाउने ?’ 

आफूले लिखितरुपमा पनि प्रधानमन्त्री र शिक्षामन्त्रीसामु ‘बोर्ड अफ ट्रष्टी’को अवधारणा प्रस्तुत गरेको बताउँदै उनले नेपालमा अहिलेसम्म यस्तो अवधारणामा विश्वविद्यालय नचले पनि अरु देशमा भने रहेको बताए । यस्तो बोर्ड अफ ट्रष्टी हुँदा ठूलो लगानी नेपालमा आउनसक्ने, विश्वविद्यालयको मात्रै नभएर लुम्बिनी क्षेत्र र नेपालको समेत विकासमा सहयोग पुग्ने, बौद्ध शिक्षाको विकासमा सहयोग पुग्ने बज्रचार्यको भनाई छ । त्यसमा एउटा बजेट सरकारले पनि लगानी गर्ने र बाँकी रकम अरु मुलुकहरुले गर्ने उनले बताए । 

अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय र बोर्ड अफ ट्रष्टी भएपछि त्यसमा अन्तर्राष्ट्रियस्तरका विज्ञहरु समेत हुने, सबैको अपनत्व पनि हुने, संकायहरु पनि धेरै हुने, विद्यार्थीहरु पनि धेरै हुने भन्दै डा. बज्राचार्यले नेपालमा यस्तो विश्वविद्यालय बनाउन सकियो भने नेपालले पनि गर्व गर्नसक्ने बताए । उनले त्यस्तो हुँदा धेरै नेपाली संस्कृति पनि उनीहरुलाईं सिकाउने अवसर बन्ने बताए । 


बज्रचार्यले यस किसिमको सरकारी नियुक्ति आफ्नो पहिलो अनुभव हो भन्दै आफूले भिसी हुन्छु भन्ने सोचेको थिइन् भने । उनले भने, ‘किनभने मेरो समय पढाउने र अनुसन्धानमा नै बित्दै थियो । तर धेरैको आग्रह के रह्यो भने लुम्बिनी विश्वविद्यालयका लागि केही गर्नुपर्यो । यसलाई उठाउनुपर्यो भन्नुभयो । मैले पनि धेरै संघसंस्थामा रहेर काम गरिसकेकाले लुम्बिनी विश्वविद्यालयमा रहेर काम गर्न सक्छु भन्ने आँट पनि आयो । भिसी हुनुपर्छ भन्ने प्रस्तावहरु आएपछि मैले पूर्व भीसीहरुसँग पनि सल्लाह गरे । बौद्ध समुदायबाट पनि म नै आउनुपर्छ भनेर आग्रह भयो । उहाँहरु आफै शिक्षामन्त्रीको जानुभयो ।’ 

आफ्नो कुनै राजनीतिक पृष्टभूमि नभएको र राजनीतिक कारण आफ्नो नियुक्ति नभएको प्रष्ट पार्दै बज्राचार्यले नियुक्तिअघि प्रधानमन्त्री, शिक्षामन्त्री र सरोकारवाला सबैसँग यो कुरा आफूले स्पष्टरुपमा राखेको पनि बताए । उनले भने, ‘सबैका साथ र सहयोग रहन्न भने म बन्दिन भनेर भनेको हो । सबैले साथ र सहयोग रहने बताएपछि म तयार भएको हो । त्यो खालको प्रतिवद्धतापछि मैले विश्वविद्यालयलाई अघि बढाउने रणनीतिक योजना तयार पनि गरें ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयले करिव सात महिनापछि नयाँ नेतृत्व पाएको हो । बज्रचार्य पाँचौं भीसी हुन् । विश्वभरका बौद्धमार्गीहरुका लागि समेत चासो बन्ने गरेको यो विश्वविद्यालयमा नियुक्त भएका बज्रचार्य झण्डै चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका, धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग आवद्ध रहेका, बैंकदेखि कलेज र विद्यालयहरुसम्मको नेतृत्व गरेका अनुभवी र क्षमतावान व्यक्ति हुन् ।

Advertisement

Advertisement