‘तपाइँहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ र, सुध्रन चाहानुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन्, सुध्रनुहोस्, रक्तपात वा कुनै पनि बिद्रोह नगरिकन सल्लाहबाट तपाइँहरु हिँडेको बाटो सच्याउनुस्’

कांग्रेस कम्युनिष्टलाई लिङ्देनले भने– अझै पनि मौका छ, राजसंस्थालाई अभिभावक स्वीकार्नुस्

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजासंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् । 

बुधबार आफ्नो पार्टीले गरेको कार्यक्रममा उनले ठूला दलहरुले अंगीकार गरेको १२ बुँदे दिल्ली सम्झौताको बाटोबाट मुलुक  दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गरेका हुन् । 

Advertisement

लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हीतकर हुने पनि दोहोर्याए । उनले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरुको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भने भारी मात्रामा कटौती गर्नुपर्ने बताए । जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरुको भार देशले थेग्न नसक्ने लिङदेनको भनाई थियो ।

लिङदेनले भने, ‘तपाइँहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ र, सुध्रन चाहानुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन् । सुध्रनुहोस् । रक्तपात वा कुनै पनि बिद्रोह नगरिकन सल्लाहबाट तपाइँहरु हिँडेको बाटो सच्याउनुस् । तपाइँहरुले २०६२–६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो, त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनु भयो । यहाँसम्म आइपुग्दाखेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाइँहरुलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ ।’ 

उनले थपे, ‘अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् । त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं । त्यो तपाईहरुकै नेतृत्वमा होस् । अब राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस् । राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं अब । नेपाल जस्तो सानो देशका लागि यति धेरै जनप्रतिनिधि भारी हुन्छ । जुनकुरा हामीले भनिराखेको छौं । संघीयता कार्यान्वयन भएपछि मात्रै कति खर्ब राष्ट्रिय ऋण बढ्यो । अहिले २४ खर्ब पुगिसक्यो । ऋण काढेर, जनतालाई ऋण थोपरेर यति धेरै जनप्रतिनिधि पाल्ने भन्दा उनीहरुको संख्या कटौति गरौं । यो संघीयता भन्ने चिज अधिकारसँग सम्बन्धित हो भने त्यसको नामसँग हामीलाई आपत्ति छैन ।’

अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत पनि गराए । गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनको चेतावनी थियो । 

लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले धर्म निरपेक्षताको नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराए । लिङदेनले धर्म परिवर्तनको बाटोमा नजान सिंगो देशबासीलाई पनि आह्वान गरे । 

उनले भने, ‘हाम्रै देशमा गिद्ध समेत मार्न नपाइने व्यवस्था भइसकेको छ भने गाईगोरु मार्छु, खान्छु, के गर्छस् ? भन्नु त्यो कसैको लागि पनि हीतकर छैन् । त्यो गलत काम हो । त्यो दण्डनीय काम हो । त्यसको हामी प्रतिवाद गर्छौंं । बिरोध गर्छौं । र, त्यो कुरा रोक्नुपर्छ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । सरकारले आफैँले निर्माण गरेको कानुनको पालना गराउनु पर्दछ । नत्र भए यसले द्वन्द्व ल्याउँछ ।’ 

लिङदेनको थप भनाई थियो, ‘यसलाई कसैले रोक्न सक्दैन । यो द्वन्द्वको बीजको रुपमा यो काम गरिराखिएको छ । परम्परा छ भन्दैमा जे पनि गर्न पाइँदैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकारको सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र हाम्रो एकतामा खल्बल पार्ने कुनैपनि प्रयासको बिरुद्धमा छ । त्यतिमात्रै होइन, आज देशमा जुन प्रकारको धर्म निरपेक्षताको आडमा धर्मान्तरहरु बढिराखेको छ । त्यसतर्फ पनि आम देशवासीको म ध्यानाकर्षण गराउन चाहन्छु ।’

राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएकोले त्यसको बिरोधमा आफूहरु उत्रनुपरेको बताए । 

Advertisement

Advertisement