विश्वका सय उदयमान व्यक्तिको सूचीमा बालेन शाह पनि

Advertisement

काठमाडौं । यसवर्षको विश्वका सय उदयमान व्यक्तिको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि परेका छन् । 

प्रतिष्ठित टाइम म्यागाजिनले उनलाई यसवर्षका सय उदयमान व्यक्तिको सूचीमा छनोट गरेको हो । म्यागाजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि उल्लेख छ । 

Advertisement

मेयर बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र शहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएको उल्लेख गर्दै म्यागाजिनले शहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको बताएको छ । 

मेयर बालेनले ‘शक्तिमा पुगेदेखि ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौता गरेको, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा गरेको’ उल्लेख गर्दै म्यागाजिनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा पनि बालेनले जनताको सेवा गरेको बताएको छ । 

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको, टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको टाइम्स म्यागाजिनको भनाई छ । 

सो पत्रिकाले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा प्रभावशाली व्यक्ति छनोट गरेर सुची सार्वजनिक गरेको छ । सुची तयार गर्न आफ्ना विश्वभरका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेको जनाएको छ । 

Advertisement

Advertisement