काठमाडौं । धेरै जसो महिलाहरुलाई महिनावरीको समयमा पेट दुख्ने, पहिलो दिन हिंडडुल गर्न समेत कठिन हुनेसम्मको समस्या सामना गर्नुपर्छ । कतिपयलाई भने त्यति धेरै समस्या नहुनसक्छ ।
महिनावारी हुँदा महिलाहरु प्याड प्रयोग गर्ने, पेट नदुख्ने औषधि सेवन गर्छन् । कहीं जाँदा वा केही काम गर्दा महिलाहरुले पहिला आफ्नो महिनावारीको मिति याद राख्नुपर्ने हुन्छ । यही समस्या हिमाल आरोहणमा जाने महिलाले पनि भोग्ने गर्छन् ।
हिमाल आरोहण गर्दा महिनावारी भए कष्ट र समस्या झेल्दै अघि बढ्नुपर्ने बाध्यता रहेको महिला आरोहीहरु बताउँछन् । यस समस्याबारे केही महिला आरोहीसँग गरिएको कुराकानीः
पासाङ ल्हामु शेर्पा अकिता, पहिलो महिला पर्वतारोहण प्रशिक्षक
हिमाल चढ्न जति कठिनाई हुन्छ, त्योभन्दा बढी महिला आरोहीहरु महिनावारी हुँदा दुखाई झेल्दै अघि बढ्नुपर्छ । हिमालमा महिनावारी हुँदा निकै गाह्रो हुन्छ । अन्य महिना आरोहीलाई हिमालमा समयमै महिनावारी हुन्छ वा हुदैन ? मलाई चाहिँ थाहा छैन् । मलाई चाहिँ हिमाल चढ्दा महिनावरी समयमा हुँदैन । त्यही भएर मैले आरोहणमा जाँदा साथमा प्याड लिएर जाने गर्छु । कुन बेला महिनावरी हुन्छ ? थाहा नहुने भएकाले मनमा त्यही कुराको चिन्ता हुन्छ । अनुमान नै गर्न सकिन्न हिमालमा । कहिले त नसोचेको बेला भइदिन्छ । त्यो बेला धेरै नै गाह्रो हुन्छ ।
मलाई अन्नपूर्ण र नङ्गा पर्वतको आरोहणमा महिनावारीले धेरै नै गाह्रो भएको थियो । चुचुरोबाट फर्किने बेला महिनावरी भएको थियो । निकै गाह्रो भयो । त्यहाँ कसरी समिटसुट (हिमाल आरोहण गर्दा लगाउने कपडा) फुकाल्ने ? कसरी प्याड राख्ने लगायतको समस्या भयो । पहिलो दिन त्यति रगत नबग्ने भएर त्यतिकै समिटबाट क्याम्प–४ सम्म आउनु परेको थियो । त्यसमाथि समिटसुटले गर्दा झन गाह्रो हुन्छ हिँड्न । शौचालय जान पनि गाह्रो । हिउँमा शौच गर्दा रगत देख्ने डर । क्याम्प–४ मा एउटै टेन्टमा ५–६ जनासँगै सुत्नुपर्छ । त्यसमाथि महिनावरी भइरहेको बेला सुत्दा अझ अप्ठ्यारो हुने । कपडा, प्याड फेर्न पनि गाह्रो । अरु पनि केटी भए त ठिकै थियो, केटाहरुको अगाडि सहज हुँदैन् ।
हिमाल आरोहण गर्दैगर्दा महिनावरी भयो भने राति भए त गाइडहरुलाई भनेर ‘मलाई यस्तो भयो, म प्याड लगाउछु’ भन्न सकिन्छ । तर दिउँसो त त्यति भन्न र गर्न पनि सकिन्न । मलाई नङ्गा पर्वत आरोहण गर्ने बेलामा बाटो मै महिनावरी भएको थियो । मैले गाइडलाई भनेर प्याड राखें । राति भएर पनि सजिलो भयो । दिउँसो भएको भए सकिन्नथ्यो होला । महिनावरी भएपछि लामो समयसम्म हिँडनु पर्दा अझ गाह्रो हुने । त्यही लगाएको प्याडमा १६ घण्टासम्म बस्नुपर्ने हुन्छ । महिनावरी भयो भनेर छोडेर फर्किन पनि सम्भव हुन्न । त्यति धेरै मेहेनत र खर्च गरेर हिमाल चढेको हुन्छ । बीचमा फर्किन पनि सकिन्न । हिमालमा आरोहणमा जाँदा नै हामीले साथमा सफा मौजा, टिसर्ट लिएर जान्छौं । महिनावरी भइहाल्यो नभे प्याडको सट्टा त्यसैबाट काम चलाउँछौं । हामी काठमाडौंमा महिनावारी हुँदा आराम गर्छौं । त्यो बेला आराम गर्नुपर्छ भन्ने हो । तर हिमालमा त्यो हुँर्दैन् । किनभने हिमालमा छिन छिनमा जोखिम हुन्छ । यस्तो कुराहरुमा म अभ्यस्त भइसकें । त्यही पनि कहिले काहीं निकै गाह्रो हुन्छ । त्यो अप्ठ्यारो अवस्थालाई पार गर्दै पनि विभिन्न हिमालहरु सफलतापूर्वक आरोहण गरे यसमा पनि खुःसी लाग्छ । हामी महिला आरोहीहरुलाई सबैले सोध्ने प्रश्न नै यही हो ।
माया शेर्पा, अध्यक्ष, सगरमाथा आरोही संघ
हिमाल आरोहणमा महिनावारी हुँदा धेरै नै रगत बग्ने, आरोहण गर्दा पनि गाह्रो हुने हुन्छ । महिला आरोहीहरु शारीरिक रुपमा पनि संघर्ष गरिरहेका हुन्छन् । मैले भर्खरै अफ्रिकास्थित माउन्ट केन्या चढेर फर्किएको हो । उक्त हिमाल चढ्ने क्रममा महिनावरी भएर निकै गाह्रो भयो । एक हप्तापछि हुनुपर्ने तर अगाडी नै भयो ।
काठमाडौंमा हुँदा भयो भने आराम गर्न पाउँछ । नुहाउन पाउँछ । समय समयमा शौचालय जान पाउँछ । काठमाडौंमा हुँदा महिनावारी भएको तीन–चार दिनमै रोकिन्छ पनि । तर हिमालमा हिँड्न थालेपछि झन बढी रगत बग्ने रहेछ । धेरै दिनसम्म । पाँच–छ दिनसम्म हुनेरहेछ । हिमालमा चिसोमा राति राति शौचालय जानु झन गाह्रो । हिमालमा जति गाह्रो भए पनि के गर्ने ? दुखाइ धेरै भयो भने ‘पेनकिलर’ (दुखाई कम हुने औषधि) खाने हो । ठाउँ ठाउँमा प्याड फेर्न पनि मिल्दैन् । त्यस्तै ठाउँ मिल्यो भने फेर्ने हो, नभए त्यत्तिकै हिँड्ने हो । कहिलेकाहीं चुचुरोमा पुग्ने बेला महिनावारी भइदिन्छ । त्यो बेला झन गाह्रो हुन्छ ।
हिमाल चढ्दा महिनावारी सबै महिलाको लागि समस्या हो । कतिपयको ‘ब्याक पेन’ (ढाड दुख्ने समस्या), तल्लो पट दुख्ने हुन्छ । त्यसमा पनि जबजरस्ती हिँडनुपर्ने हुन्छ । एउटै उपाइ भनेको औषधि खाने हो । कहिले त महिनावरीको रगत धेरै बगेर बाहिरसम्म लागिरहेको हुन्छ । त्यति हो, हिमालमा महिनावारी कहिले अगाडी भइदिन्छ । कहिले पछाडी भइदिन्छ । आधार शिविर मै भए खासै समस्या हुन्न ।
चो ओयुको चुचुरोमा जाँदा एक दिन अगाडी महिनावरी भएर निकै गाह्रो भयो । महिनावारी भएर प्याडले पनि थेगेन । ‘समिट सक्स’ राखेर काम चलाएँ । समिट सक्स बाक्लो हुन्छ । त्यसको प्रयोग गरेर पनि आरोहण सकें । त्यो दुखाइ भइरहँदा माथि जाउँ कि फर्किउँ भन्ने त हुन्छ । तर, हिमालको शिखर नजिक पुगिसकेपछि हामीले समिट त्याग्न सक्दैनौ । फेरि अर्को पटक भनेको पक्का हुँदैन् । त्यो गाह्रो सहेर पनि हिमालको चुचुरो चुम्न सक्दा निकै खुःसी लाग्छ । अन्नपूर्ण हिमालमा चाहिँ आधार शिविर मै हुँदा महिनावारी भएको थियो । आधार शिविरमा चाहिँ काठमाडौंमा हुँदाभन्दा तीन गुणा बढी रगत बग्ने रहेछ, जुन निकै गाह्रो हुने । फरक ठाउँ, समय मौसमले गर्दा होला । हिमालमा चिसोले गर्दा पनि बढी गाह्रो हुने । हाम्रो शरीरलाई जति ‘प्रेसर’ पर्यो, त्यति नै बढी महिनावारीको रगत बग्ने रहेछ ।
पर्वतारोही शर्मिला लामा
मलाई अन्नपूर्ण र सगरमाथा चढ्न जाँदा गाह्रो भएको थियो । छ हजार मिटरका हिमाल चढ्न जाँदा पनि महिनावारी भएर गाह्रो भएको थियो । चिसो ठाउँमा महिनावारी हुँदा गाह्रो हुँदो रहेछ । महिनावारी काठमाडौंमा भएको बेला हुँदा हामीलाई अवस्थ महशुस हुन्छ । महिनावारीको रगत धेरै बग्यो भने झन गाह्रो हुन्छ । चिसोले गर्दा थोरै थोरै रगत बग्छ । त्यसकारण धेरै गाह्रो हुन्छ । लामो समयसम्म प्याडहरु फेर्न पाउँदैन । हिमाल चढ्दा सुरक्षाको कुरा हुन्छ ।
म अन्नपूर्णको क्याम्प–२ देखि माथि जाँदै गर्दा महिनावारी भएको थिए । एउटै प्याडमा १८ घण्टासम्म त्यही प्याडमा बस्नु परेको थियो । ट्वाइलेट गएर फेर्न पनि पाएन् । क्याम्प–४ मा एउटै टेन्टमा ५–५ जना बस्नुपर्छ । खुट्टा चलाउने ठाउँ हुँदैन् । महिनावारीको बेला त्यसमा पनि केटा मान्छेहरुसँग सेयरिङ गरेर बस्दा झन गाह्रो हुन्छ । बाहिर निस्कयो भने हावाहुरी, हिउँ पहिरोको जोखिम हुन्छ । हिमाल चढ्दा महिनावारी सार्ने औषधिले पनि खासै काम नगर्ने रैछ । सगरमाथामा खाएको थिएँ । काम गरेन् । स्वास्थ्यमा पनि हानी गर्छ भन्छन यस्तो औषधिले ।
पूर्णमा श्रेष्ठ, फोटो पत्रकार तथा आरोही
महिनावारी भइरहँदा धरैजसो महिलाहरुलाई पेट दुख्ने, कम्मर दुख्ने हुन्छ । अरुलाई जस्तो मलाई त्यस्तो पेट चाहिँ दुख्दैन् । तर असहज चाहिँ हुन्छ, अरु बेलाको भन्दा । हिमाल चढ्न जाँदा बेस क्याम्पमा हुँदा नैमहिनावारी भइदिए हुन्थ्यो भन्ने हुन्छ । आराम गर्न त पाइन्छ । हिमाल आरोहण गर्दा भयो भने गाह्रो हुन्छ ।
मलाई धेरैजसो हिमालमा महिनावारी भएको छ । कहिले बेस क्याम्पमा, कहिले हिमालको क्याम्प–१, क्याम्प–२मा, कहिले चुचुरोमा पुगेर फकिँदा भएको छ । सगरमाथा, मनास्लु, अमा दब्लमको आरोहण गरेर फकिँदा महिनावारी भएको थियो । त्यो बेला पनि मलाई निकै गाह्रो भएको थियो । त्यो अवस्थामा निकै कठिनाइ हुन्छ । ‘डाउनसुट’मा रगत लाग्ने हो कि भन्ने मनमा डर हुने । प्याडहरु कसरी फेर्ने ? भन्ने कुराहरुको चिन्ता हुन्छ ।
पछिल्लो पटक हिमाल चढ्दा ‘पिरियोड कप’ प्रयोग गरेको थिएँ । तर हिमालमा यस्तो कपको प्रयोग गर्न गाह्रो हुँदोरहेछ । कप पखाखिराख्नुपर्ने । हिमाल चढ्दा त्यो कुरा संभव नै हुँदैन् । त्यसकारण प्याड नै प्रयोग गर्नुपर्छ । तर प्याड पनि कहाँ फेर्ने ? भन्ने हुन्छ । केटा गाइडसँग हुँदा आफूलाई महिनावारीको गन्ध आए जस्तो महशुस हुने । मनमा डर भइरहन्छ ।
हिमाल चढ्न जाँदा प्याड आफूसँगै बोकेर जाने गर्छु । तर फेर्न ठाउँ चाहिँ हुँर्दैन् । हिमालको चुचुरोमा भएको बेला कहाँ प्याड कहाँ खोजेर डाउनसुट खोलेर लगाउने ? त्यो बेला धेरै आरोही हुन्छ । बिचमा रोकेर बस्ने कुरा भएन् । महिनावारीको रगत बगिरहे पनि केही गर्न सक्ने अवस्था हुन्न । त्यो हुँदा हिँडन पनि गाह्रो हुने । कति महिलाहरु त त्यस्तो हुँदा आरोहण नै छोडेर बेस क्याम्प फर्किन्छन् । हिमालमा कसैलाई ‘ब्लिडिङ’ (रक्तश्राव) हुन्छ । कसैलाई हँदैन् । उचाइले गर्दा धेरै रगत बग्ने पनि हुन्छ कि भन्ने मैले आफैले पनि महशुस गरें । एउटा प्याडले नथेक्ने भएकोले कति फेरिरहनु भन्ने पनि हुन्छ ।