‘अबको निर्वाचनमा थपिने ५० लाख मतदातालाई समेट्ने दृष्टिकोण चाहियो’

विनोध चौधरीको कांग्रेसलाई प्रस्ताव– राजनीतिक कुरा मात्रै नगरौं, विकासको कुरा पनि गरौं

Advertisement

विनोध चौधरीको कांग्रेसलाई प्रस्ताव– राजनीतिक कुरा मात्रै नगरौं, विकासको कुरा पनि गरौं
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने भन्दै आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । 

Advertisement

चौधरीले भने, ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन । देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । चौधरीले थपे, ‘अब अर्को कार्यसमितिको प्रमुख एजेण्डा नै यिनै अर्थतन्त्र हुनुपर्छ । एक दिन दुई दिन आर्थिक मुद्धामा छलफल हुनुपर्छ । विकास निर्माणका कामहरु ठप्प भएका छन् । उद्योगधन्दाहरु ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ ।’ 

उद्योगपतिसमेत रहेका उनले फराकिलो दृष्टिकोणले कांग्रेसलाई पुननिर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्दा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्दालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्दामा छलफल हुनुपर्ने बताए । 

चौधरीले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने बताए । उनले भने, ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिदैछन् । सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? त्यसका आधारशीला के हुन् ? यो पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ? हामीले सोच्नुपर्ने बेला आएको छ । 

साँसदसमेत रहेका चौधरीले केही गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनको भनाई छ, ‘जीवनभर राजनीति गर्ने मान्छेले मात्रै विकास गर्न सक्छ भन्ने दृष्टिकोणलाई अगाडि ल्याइन्छ । मलाइ लाग्छ, यो मानसिकतामा परिवर्तन ल्याउन सकेनौं  भने आगामी दिनमा झन् कठिनाई हुन्छ ।’ कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ गतेदेखि जारी छ ।

Advertisement

Advertisement