काठमाडौं । नेपालले आज (शुक्रबार)देखि भारत हुँदै बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएपछि नेपालको बिजुली बंगलादेश निर्यात गर्न थालेको हो ।
आज दिउसो आयोजित कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरे ।
त्रिपक्षीय सम्झौताअनुसार आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । तर यो याममा एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालबाट भारतको प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न गत असोज १७ मा काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताको एक महिनाभित्र निर्यात सुरु गर्ने भनिए पनि भारतीय पक्षले अनुमति दिन ढिलाई गर्दा आज मात्रै निर्यात सुरु भएको हो ।
त्रिदेशीय सम्झौताअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ । बंगलादेशमा बिजुली निर्यातको कुरा उठेको एक दशकअघि नै हो । तर लामो द्धिपक्षीय र त्रिपक्षीय छलफलपछि आज बल्ल यसले आकार लिएको हो । हालसम्म भारतमा मात्रै नेपाली बिजुली निर्यात भएकोमा आजबाट तेस्रो मुलुकमा पनि निर्यात सुरु भएको छ ।
ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए । नेपालले प्रतियुनिट करिब आठ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट)का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौता गरेको छ । यसरी बिजुली तेस्रो देशमा निर्यात गर्न प्रसारणलाइन प्रयोग गरेवापत भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)ले ‘ह्विलिङ चार्ज’ लिने छ । यस्तो शुल्क बंगलादेशी कम्पनीले तिर्ने जनाइएको छ ।