शेयर बजार अस्वस्थकर भयो, अर्थमन्त्री, जिज्ञासा र गुनासो सम्बोधन गर्न 'च्याटबोर्ड' शुभारम्भ

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजार अस्वस्थकर भएको बताउँदै यसलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको कार्यक्रममा सोमबार उनले भने, ‘शेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो । कतिपय बेलामा इन्साइडर ट्रेनिङका कुरा आउँछन् । सूचना लिक हुने प्रवृत्ति देखिएको छ । धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

Advertisement

महतले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ भन्दै त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने बताए । बोर्डले लगानी सुरक्षाका ज्ञान र जागरुकता पैदा गर्न जरुरी रहेको उनले बताए । शेयर बजारमा स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न जरुरी रहेको महतको भनाई छ । 

उनले भने, पहिला सीमित ब्रोकर मात्र थिए । अहिले ब्रोकरको संख्या बढेको छ । अब मनोपोलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आमलगानीकर्ताले प्राप्त गर्ने छन् ।’ च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै महतले भने  ‘यो बोर्डले शेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन गर्नसक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’

उनले लगानी साक्षरता कमजोर रहेको औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउने बताए । यसका लागि नेपालले पनि आफूलाई तयारीमा राख्नुपर्छ भन्दै महतले यसो भए मात्र लगानीकर्ता सुरक्षित हुने बताए ।  

मन्त्रस् महतले भने, ‘शेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ ।’ 

शेयर बजार अहिले तल झरेको छ भन्दै उनले त्यसका विविध कारण रहेको बताए । यसमा नियमन र सुक्ष्म व्यवस्थापनको समस्या रहेको महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । शेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’

Advertisement

Advertisement