पोखराकै पूरानो ‘ड्रागन होटल’ संकटमा, सिजनमा नै पर्यटक आएनन्ः तुलाचन

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखरामा नाम चलेको होटल हो ‘ड्रागन’ । पर्यटन व्यवसायी अशोकध्वज तुलाचनले यो पूरानो होटल सञ्चालन गर्दै आएका हुन् । 

आफ्नो बाबु हरिध्वजले लामो समयदेखि सञ्चालनमा ल्याएको ड्रागन होटललाई अशोकले अझ परिस्कृत र स्तरीयरुपमा सञ्चालन गरेका छन् । चार रोपनी १० आना क्षेत्रफलमा रहेको यो होटल २०२६ मा सानो होटलको रुपमा सुरु भएको थियो । अशोकध्वजले २०३१ मा यसलाई ठूलो संरचनासहित विस्तार गरे । 

Advertisement

उनी भन्छन्, ‘बुबाले सुरु गर्नुभएको यो होटलको थिमलाई मैले फेरेको छैन् । हाम्रो यो होटल पोखराको सबैभन्दा पूरानो होटल पनि हो ।’ ड्रागन होटलमा करिब ७० जना ग्राहक अटाउने क्षमता छ । पहिला झण्डै ४० जना कर्मचारी रहेको यो होटलमा अहिले भने आठ जना मात्रै छन् । पर्यटन आगमनमा कमी आएसँगै व्यापार समेत घटेपछि होटलले खर्चमा समेत कटौती गरेको छ । 

तुलचनले भने, ‘पहिला हामीले साँस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गर्थ्यौं । त्यो अहिले बन्द गरिएको छ, पर्यटकहरु नभएर । सुरुमा यस्तो साँस्कृतिक कार्यक्रम गर्ने हामी पहिलो थियौं । कर्मचारीहरु पनि कम गरेका छौं । अरु सञ्चालन खर्च पनि घटाएका छौं ।’

‘ड्रागन’ भन्ने बित्तिकै बुद्ध धर्ममा ‘रक्षक’ हो भन्दै उनले भने, ‘मेरो बुबा स्कुल पढ्नु भएको त होइन् । तर तिब्बती भाषा भने पढनु भएको हो । मुस्ताङबाट करिब १६ वर्षको उमेरमा पोखरा झर्नुभयो । यही आएर होटल व्यवसाय सुरु गर्नुभयो । यो होटल बुद्ध धर्ममै आधारित भएर निर्माण गरेका हौं । होटल गुम्बा खालको छ । अरु होटलमा भन्दा हाम्रोमा वातावरण फरक छ । फराकिलो ठाउँ छ । हिमालहरु देखिन्छ ।’ 

पारिवारिक वातावरणको यो होटल पारिवारिकरुपमा नै सञ्चालन हुँदै आएको छ । ड्रागन होटलमा सबै आधुनिक सेवा सुविधा पनि छ । होटलमा ६६ वटा बेडहरु छन् । होटलमा ज्याकुजीको निर्माण कार्य पनि भइरहेको छ । यसमा ९–१० जना महिला र पुरुष फरक फरक ठाउँमा ज्याकुजीको मज्जा लिन सक्नेछन् । 

पौडी पोखरी पनि राख्ने योजना सुनाउँदै तुलाचनले होटलमा ८० जना जति अटाउने ठूलो सभाहल र ४० जना जति अटाउने सानो सभाहल पनि रहेको बताए । यी हलमा अब होटल व्यवस्थापन तालिम सञ्चालन गर्ने सोच आफूले राखेको उनले बताए । त्यस्तो हुँदा आफूलाई चाहिने जनशक्ति पनि सोही तालिम लिएकाहरुबाट पूर्ति गर्न सकिने तुलाचनको विश्वास छ । 

तर व्यवसायी तुलाचन पर्यटकीय सिजनमा समेत अहिले पर्यटक नभएको देख्दा निराश देखिन्छन् । उनले सरकारले पोखरा अन्तर्राष्टिय विमानस्थल राम्रोसँग सञ्चालन गर्न सकेको भए पनि यस्तो समस्या हुने थिएन् भन्दै अहिले पोखरामा पर्यटन व्यवसायीलाई निकै कठिनाई रहेको, कतिपय पलायन हुने अवस्थामा पुगेको बताए । 

तुलाचनले भने, ‘स्टाफ खर्च उठाउन पनि गाह्रो भइरहेको छ । सिजन सुरु भए पनि पर्यटकहरु छैन् । हाम्रो होटलमा चाहिँ पर्यटकहरु फाट्टफुट्ट छ, बेलायती र जर्मनीहरु । अरुमा त्यही पनि छैन् । बैंकको चर्को ब्याज र अरु खर्च धान्न नसकेर धेरैलाई गाह्रो भएको छ ।’ पोखरामा पछिल्लो समय होटल र रिसोर्टमा निकै लगानी बढे पनि सोअनुसार पर्यटक आगमन हुन नसक्दा लगानी जोखिममा परेको उनले बताए । 

undefinedundefined

Advertisement

Advertisement