दुई समुदायबीच झडप भएपछि नेपालगञ्जमा कर्फ्यु, सदभाव कायम राख्न धवलशम्शेरको आग्रह

Advertisement

काठमाडौं । दुई धार्मिक समुदायबीच झडप भएपछि नेपालगञ्जमा कर्फ्यु लगाइएको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनको भनाई छ । 

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

Advertisement

हिन्दुहरुको समूह आज मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको जनाइएको छ । 

संभावित झडप हुन नदिन अहिले बजार क्षेत्रमा सयौं सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । हिंसात्मक झडप हुन नदिन हिन्दू र मुस्लिम समुदायका धर्मगुरु र नागरिक समाजका अगुवाहरुको सदभाव र्याली पनि निकालिएको थियो । 

साथै, जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यसै सन्दर्भमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् । आज संसदमा बोल्दै उनले सद्भावको शहरमा अशान्ति नफैलाउन आग्रह पनि गरे । 

राणाले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन आग्रह गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुलाई साइबर क्राइममा कारवाही गर्न आग्रह पनि गरेका छन् । 

Advertisement

Advertisement