काठमाडौं । शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेलले खर्बौंको कारोबार हुने शेयर बजारसँग राष्ट्र बैंकले लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको बटाएकी छन।
राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै शेयर धितो कर्जाको सीमा केही बढाएपछि उनले शेयर बजारपछि राष्ट्र बैंकको अनुदार नीति रहेको औंल्याएकी हुन् ।
राष्ट्र बैंकले शेयर धितो कर्जाको क्याप संशोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । नियामक निकायले समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गर्ने गरेको पोखरेलको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालको शेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको छ । राष्ट्र बैंकका कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन्, त्यस्को बाबजुद लगानीकर्ताहरुलाई चर्याईरहेको घाउमा राष्ट्र बैंकले थप नुनचुक छर्किएको छ ।’