काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंबाट कोरियाको इन्चोन (सियोल) उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरि दावी गरेको छ ।
नेपाल वायुसेवा निगमको सियोल उडानका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि कोरियन एयरको नेपालस्थित जीएसएले चलखेल गर्दै अवरोध गर्दै आएको थियो ।
प्राधिकरण र भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय, कोरियाबीच उडान सुरु गर्ने विषयमा छलफल भएको हो । पछिल्ला दिनमा भएको छलफलमा कोरियन पक्ष सकारात्मक बनेको प्राधिकरणको दावी छ । दुवै पक्षले स्थलगत मूल्याङ्कनलगायत दुवै देशको हवाई यातायातसम्बन्धी विचाराधीन विषयहरूबारे छलफल गर्न सहमत भएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणका एक कर्मचारीले नेपाल एयरलाइन्सको सियोल उडान छिटै सुरु हुनसक्ने बताए । नागरिक उड्डयन महानिर्देशकहरूको एसिया प्रशान्त क्षेत्रको सम्मेलन बंगलादेशको ढाकामा अक्टोबर १५ देखि हुन लागेको सोही क्रममा सियोल उडान सुरु हुने जनाइएको छ ।