शिशापाङ् हिमालको हिमपहिरो: घाइतेको आधार शिविरमै उपचार गरिंदै
फाइल तस्बिर

Advertisement

काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अज्ञात छ । 

तिब्बततर्फ रहेको विश्वको चौधौं अग्लो हिमाल शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड मिङमार शेर्पाको मृत्यु भएको छ भने अर्की अमेरिकी महिला आरोही जिना मारिया र उनका शेर्पा गाइड तेन्जेन (लामा) शेर्पा भने बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको आरोहण कम्पनीहरुको भनाई छ । 

Advertisement

तेन्जेन विश्व कीर्तिमानी पर्वतारोही हुन् । तेन्जेन र नर्वेकी क्रिस्टिन हरिलाले गत साउन ११ गतेका दिन ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए ।  

८,०२७ मिटर उचाइमा रहेको शिशापाङ्माको हिमपहिरोमा परी बे कामिरिता शेर्पा, मित्रबहादुर तामाङ र कर्मा ग्याल्जेन शेर्पा भने घाइते भएका छन् । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार शिशापाङ्माको हिमपहिरोमा परी घाइते भएकाहरुलाई क्याम्प–१ बाट शिशापाङ्मा हिमालको बेस क्याम्प ल्याउने काम भइरहेको खबर आएको थियो । चीन सरकारले शिशापाङ्मा हिमालको बेस क्याम्पमा एम्बुलेन्स, मेडिकल, रेस्क्यू (उद्धार टिम), डाक्टरहरु सबै तयार गरिसकेको भन्ने खबर पाएको बताउँदै उनले भने, ‘घाइते भएकाहरुलाई रेस्क्यु गर्नको लागि नेपाल पर्वतारोहण संघ, पर्यटन विभागको ​तर्फबाट हिजो नेपालस्थित चीनको दूतवासलाई पहल गरेका थियौं । नेपाल पर्वतारोहण संघ, पर्यटन विभागबाट चिठी पनि पठायौं ।’

उनले थपे, ‘हामीले नेपालबाट हेलिकप्टर पठाउने पर्ने स्थिति भयो भने हामी पठाउछौं, त्यसको लागि उडान अनुमतिका लागि नेपालस्थित चीन दूतवासलाई पहल गरेका थियौं । चीनको प्रक्रिया लामो हुन्छ । हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव मृत्यु भएको ठाउँबाट तल्ला ल्याउन सकिएको छैन । त्यो ठाउँमा अहिले जाने स्थिति नै छैन ।’ 

यस्तै, साहसिक तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार शिशापाङ्मा हिमालमा हिमपहिरोमा परेका तीन घाइते मध्ये दुई घाइते कामिरिता शेर्पालाई भने आज काठमाडौं ल्याइ करुणा अस्पतालमा उपचार भइरहेको छ । 

साथै विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा जी शेर्पा र पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पा पनि घाइते भएका र अहिले उनीहरुको शिशापाङ्माको आधार शिविरमा उपचार भइरहेको उनले जानकारी दिए । 

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालगायत अन्य आरोहीहरु हिमपहिरो भएको स्थानबाट लगभग ६ सय मिटर तल रहेको र उनीहरु सुकुसल रहेका छन् । उक्त हिमाल आरोहण गर्न ठूलो टिम त्यहाँ रहेको छ । 

Advertisement

Advertisement