काठमाडौं । विश्वमै सबैभन्दा लामो राफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ पहिलो पटक कर्णाली नदीमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुन लागेको नेपाल एसोसिएसन अफ याफ्टिङ एजेन्सीका (नारा) अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डको मुख्य सहयोग र नारा, नेपाल नदी संरक्षण कोष, कर्णाली बेसिन संरक्षण प्रतिष्ठान लगायतको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन् लागेको उनले बताए । अधिकारीका अनुसार द ग्रेट कर्णाली क्वेस्ट एक महाकाव्य साहसिक कार्यको रूपमा आयोजना गर्न लागिएको छ, जसले विश्वभरका प्रतिभाशाली राफ्टिङ टिमहरूलाई एकसाथ ल्याएर अहिलेसम्मको सबैभन्दा लामो राफ्टिङ दौडमा प्रतिस्पर्धा गर्नेछ ।
यो प्रतिस्पर्धामा सहभागी भई टिमले आफ्नो क्षमता परीक्षण गर्ने, आफ्नो टिमवर्क, सहनशीलता प्रदर्शन गर्ने र विश्वका उत्कृष्ट र्याफ्टिङ टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने अध्यक्ष अधिकारीले बताए । उक्त कार्यक्रममार्फत कर्णाली क्षेत्रको पर्यटन अन्वेषण र प्रवर्द्धनमा पनि सहयोग पुर्याउने र यति ठूलो कार्यक्रम गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने योजना रहेको बताए ।
अधिकारी भनछन्, ‘यो प्रतिस्पर्धाभन्दा बढी कर्णाली नदीको महिमाको सम्मान गर्न हो ।’ राफ्टिङ दौडको रुटः राकम कर्णाली, आठबिस नगरपालिका, दैलेखदेखि दौलतपुरघाट हुँदै कैलालीसम्म २४८ किलोमिटर (१५४ माइल)को हुनेछ । कार्यक्रम भव्यताका साथ मनाउन तयारी भइरहेको भन्दै उनले थपे, ‘विश्वमै पहिलो पटक यति लामो रेस हुन लागेको हो । यति लामो रेस गरेको अहिलेसम्म रेकर्ड छैन् । हामीले १६ वटा देशलाई यसमा सहभागी गराउने उद्देश्य राखेका छौं । अहिलेसम्म आठ वटा देश पुगेको छ ।’