काठमाडौं । राजधानीको चन्द्रागिरीमा अब प्याराग्लाइडिङ उडान सुरु भएको छ । कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिका सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले चन्द्रागिरी चित्लाङ क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष छुटसहित चित्लाङ क्षेत्रमा आफूले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको उनले बताए । प्याराग्लाईडिङ उडान क्षेत्र राजधानीको शहरी क्षेत्रदेखि नजिकैको दूरीमा रहेकाले आकाशमा चरा जस्तै उडेर काठमाडौं शहर, चित्लाङ गाउँ, चन्द्रागिरी क्षेत्र, उत्तरी भेगमा अवस्थित अग्ला सेता हिमालहरु हेर्न सकिन्छ ।
चन्द्रागिरीमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याउन करिब एक करोड रुपियाँ लगानी लागेको सुनुवारले बताए । उनले भने, ‘यो उडान हाम्रो कम्पनी बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रा.लि.अन्तर्गत चन्द्रागिरीमा सुरु गरेको हो । यो कम्पनीको प्रधान कार्यालय स्याङ्जामा छ भने प्याराग्लाइडिङ उडान दाङ, रामेछाप, पोखरा, सुर्खेत, लमजुङ सुरु भइसकेको
छ । अहिले काठमाडौंमा पनि सुरु भएको छ ।’
प्याराग्लाइडिङ गर्ने सपना भएका काडमाडौं उपत्यकावासीहरुलाई यसले सहज बनाउने सुनुवारले बताए । चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान गराएर चित्लाङमा अवतरण गराइन्छ । चित्लाङ क्षेत्र पर्यटकीय क्षेत्र पनि हो । चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरु गर्न आफूलाई छ बर्ष समय लागेको सुनुवारले बताए । उनले अहिले छ जना पाइलट राखेको बताउँदै माग बढे अझ थप्ने बताए ।
सुनुवारले भने, ‘अहिले विशेष प्याकेज ल्याएका छौं । कोही एक रात चित्लाङमा बसेर प्याराग्लाइडिङ गर्ने नेपालीहरुलाई १२ हजार रुपियाँ मूल्य राखेका छौं । यातायाता सुविधासहित प्याराग्लाइडिङ मात्र गर्ने हो भने आठ हजार, आफ्नै यातायातमा प्याराग्लाइडिङ गर्न आउनेलाई सात हजार दुई सय मूल्य राखेका छौं । यसमा फोटो, भिडियोसमेत समावेश छ ।’
विदेशी पर्यटकहरुको लागि भने फोटो, भिडियो र यातायातसहित प्रतिव्यक्ति ११ हजार पाँच सय शुल्क कायम गरिएको छ । दैनिक सयभन्दा बढीले प्याराग्लाइडिङबारे सोधपुछ गर्ने गरेको सुनुवारले सुनाए । उनले प्याराग्लाइडिङ पाइलटहरु अन्तर्राष्टियस्तरका तालिमप्राप्त पाइलट राखेको बताउँदै उनीहरुको विशेष बीमा समेत आफूहरुले गराएको बताए ।
सुनुवार भन्छन्, ‘चन्द्रागिरी एक मात्र यस्तो ठाउँ हो जहाँ अलिकति उच्च छ । दुई हजार २३ मिटरबाट उडेर एक हजार सात सय मिटरमा ल्याडिङ गर्ने हो । चित्लाङमा इन्द्रसरोबर छ । त्यो पनि प्याराग्लाइडिङ उडान गर्दा देखिन्छ ।’ उनले ४५ जनालाई रोजगारी पनि दिएको बताए ।
नेपालमा साहसिक पर्यटनभन्दा ठूलो उद्योग सायदै छ होला भन्दै सुनुवारले साहसिक पर्यटनमा राज्यले पनि विशेष प्राथमिक्तामा राख्यो भने अर्थतन्त्रमा टेवा पुग्ने बताए ।