काठमाडौं । नेपाल साहसिक खेलको लागि प्रसिद्ध छ । नेपालमा विदेशी पर्यटकहरु कोही साहसिक खेलको लागि आउँछन्, भने कोही पदयात्रा र दृश्यावलोकनका लागि आउँछन् । कोही नेपालको कला संस्कृति हेर्न आउँछन् । अहिले चाडपर्वको समय बिदा मिल्ने भएकाले यस्ता खेल समय बिताउने माध्यम हुनसक्छन् ।
विशेषगरी पोखरा साहसिक खेलको लागि प्रसिद्ध छ । पोखरामा प्याराग्लाइडिङ, बञ्जि जम्पलगायत खेल खेल्न विदेशी पर्यटकहरु आउने गरेका छन् । विश्वकै दोस्रो अग्लो बञ्जि जम्प पोखरामास्थित कुश्मा रहेको छ ।
बञ्जि जम्प गर्ने ठाउँहरुः
१. द क्लिफ नेपालः
पोखरामास्थित कुश्मा रहेको द क्लिफ नेपाल संसारको दोस्रो अग्लो बञ्जि जम्पिङ हो । दुई सय २८ मिटर उचाइमा रहेको बञ्जि जम्पिङमा बञ्जि गर्न नेपाली र विदेशीलाई प्रतिव्यक्ति फोटो र भिडियो सहित गरेर नौ हजार रुपियाँ शुल्क लाग्छ । फोटो र भिडियो बिना सात हजार पाँच सय शुल्क पर्ने कम्पनीका बिक्री तथा बजार प्रवन्धक अविलासा कार्कीले जानकारी दिइन् ।
२. गो बञ्जि नेपालः
२०१८ देखि पोखरामा सञ्चालनमा आएको गो बञ्जि जम्पिङमा प्रतिव्यक्ति छ हजार पाँच सय रुपियाँमा लाग्छ । यो शुल्क फोटो र भिडियोसहित हो ।
३. हाईग्राउन्ड नेपालः
पोखरास्थित लेकसाइड रोडमा रहेको हाइग्राउन्ड बन्जि जम्पिङ २०१२ देखि सञ्चालनमा छ । हाइग्राउन्डमा नेपाली र विदेशी दुवैलाई प्रतिव्यक्ति छ हजार पाँच सय रुपियाँ शुल्क लाग्छ जसमा फोटो, भिडियोको सुविधा पनि समेटिएको छ ।
४. द लास्ट रिसोर्ट नेपालः
द लास्ट रिसोर्ट सिन्धुपाल्चोकस्थित भोटेकोशीमा रहेको छ । एक सय ६० मिटर लामो यो बञ्जि जम्प झण्डै २४ बर्षदेखि सञ्चालनमा छ । यस बञ्जि जम्पिङमा एक पटक बञ्जि गरेको नेपालीका लागि सात हजार सात सय आफनै सवारी साधान भएमा, नभएमा र रिसोर्टले व्यवस्था गर्नुपरे नौ हजार पर्छ । विदेशी पर्यटकका लागि ९२ डलर आफ्नै सवारी साधन भएमा, नभएमा र रिसोर्टले व्यवस्था गर्नु परे १०८ डलर पर्नेछ । भिडियो र फोटोको शूल्क छुट्टै दुई हजार तिर्नुपर्ने छ ।
बञ्जि खेल्न शर्त
शारीरिक रूपमा फिट हुनुपर्नेछ । गर्भवती, फरक क्षमता भएकाहरुको अवस्था हेरेर मात्रै खेल्न दिने गरिन्छ जसका लागि मेडिकल रिपोर्ट हेरिन्छ । त्यस्तै, १८ वर्ष भन्दा कम उमेरको भए परिवारको अनुमति चाहिन्छ र मानसिकरूपमा तयार हुनुपर्छ । दम, उच्च रक्तचाप, हात भाँचिएका व्यक्तिलाई बञ्जि गर्न दिइन्न ।