पर्यटन व्यवसायीका नेताहरुलाई दशैंभन्दा व्यवसायमै चटारो, कस्ले कसरी मनाउँदै छन् ?

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड दशैंकै बेला पर्यटकीय सिजन परेकोले पर्यटन व्यवसायीहरु यस वर्ष दशैंमा भन्दा पनि काममा देखिएका छन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरले थला परेको पर्यटन व्यवसाय लयमा फर्किने आशा बढेको बेला व्यवसायीहरु दशैं मनाउँदै व्यवसायलाई पनि निरन्तरता दिँदै छन् । 

होटल एशोसियशन अफ नेपालका (हान) अध्यक्ष विनायक शाहले यसपालीको दशैं परिवारसँग काठमाडौंमा नै मनाउने बताउँदै छन् । उनी भन्छन्, ‘दशैं परिवारसँग भेटघाट गर्ने समय पनि हो । दशैंमा परिवारहरुसँग रमाइलो गर्ने बेला पनि हो । अरु बेला परिवारलाई त्यति समय दिन पाइँदैन् । त्यही भएर परिवारसँगै दशैं मनाउँदै छ ।’ 

Advertisement

संघले अहिले विदेशी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै सदस्य होटलहरुमार्फत दशैं परिकार उत्सवमा सञ्चालन गरिरहेको पनि शाहले जानकारी दिए । यसमा पर्यटकहरुको उत्साहजनक रुची रहेको बताउँदै उनले भने, ‘सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराही र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतका सदस्य होटलहरुमा पर्यटक तथा स्थानीयहरुको राम्रो सहभागिता रहेको छ । फुलपातिपछि सुरु भएको सार्वजनिक बिदाले अग्रिम बुकिङ समेत राम्रो रह्यो । त्यसको प्रतिक्रियाहरु राम्रो आइरहेको छ ।’

शाहले थपे, ‘हामी नेपालीहरुले दशैंमा के खानाको परिकारहरु खान्छौं ? त्यो पर्यटकहरुलाई पनि पस्किन पाउँदा हामी निकै खुःशी छौं ।’ उनले हानको अध्यक्ष भएपछिको यो आफ्नो पहिलो दशैं भएको र आफ्नो जिम्मेवारी पनि बढी रहेको बताउँदै सबैसँग खुशी साटासाट गर्ने काम पनि गरिरहेको बताए । 


ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहारि बाँस्तोला अहिले दशैंमा खासै योजना नरहेको परिवारसँग काठमाडौं मनाइरहेको बताए । दशैंमै पर्यटकीय सिजन पनि भएकाले काममा पनि बढी नै व्यस्त हुनुपर्ने बाध्यता पनि रहेको सुनाउँदै उनले भने, ‘सिजन भए पनि त्यस्तो सोचेको जस्तो पर्यटकहरु धेरै भित्रिएका छैनन् । सिजन लागेको जस्तो मात्र भएको छ । जे जति पर्यटक आएका छन्, उनीहरुलाई सेवा त दिनैपर्यो । दशैं विशेष पर्व भएकाले परिवार इष्टमिटलाई समय पनि दिनैपर्यो ।’ 

यस वर्ष पर्यटन बजार हेर्दा व्यवसायीहरु कोरोना महामारीमा जस्तै अहिलेको आर्थिक मन्दीले पीडामा रहेको बाँस्तोलाले बताए । उनले भने, ‘यस बर्ष धेरै जसो पर्यटन व्यवसायीहरुको पनि त्यस्तो टाडा जाने योजनामा छैन् । मैले पनि कतै जाने योजना बनाइन् ।’ दशैंमा धेरै खर्च गर्दैमै दशैं रमाइलो हुन्छ भन्ने होइन भन्दै बाँस्तोलाले विदेशमा रहेकाहरुलाई घर आएर परिवारसँग भेटघाट गर्ने र परिवारसगैं रमाइलो गर्ने बेला एक किसिमको अवसर पनि हो भने ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका (नाटा) अध्यक्ष रमेश थापाले दशैं सिजनको बेलामा परेकोले दशैं भनेर रमाउने बेला मात्रै छैन् भने । उनले भने, ‘दशैं पनि मनाउने हो । सँगै कामहरु पनि गर्नुपर्यो । यो सिजन हो । घुम्न र रमाइलो गर्न आएका पर्यटकलाई सेवा रोक्न सकिन्छ । उनीहरुलाई पनि दशैंमा रमाउन अभिप्रेरित गर्दै परिवारसँग पनि दशैं मनाउँदै छु ।’

नेपाल एसोसिएसन अफ याफ्टिङ एजेन्सीका (नारा) अध्यक्ष शिव अधिकारी दशैं मनायन कर्णालीमा छन् । अर्को महिना विश्वमै सबैभन्दा लामो राफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ पहिलो पटक कर्णाली नदीमा आयोजना हुन लागेको र त्यसको सर्वेक्षण गर्न कर्णाली आउनुपरेको बताउँदै उनले कर्णालीमा नै आफ्नो दशैं चलिरहेको बताए । 

आउँदो नोभेम्बर २३ देखि छ दिन ‘द ग्रेट कर्णाली क्वेस्ट’आयोजना हुन् लागेको अधिकारीले बताए । उनले भने,  ‘यसपाली दशैं घरमै मनाउनुभन्दा पनि द ग्रेट कर्णाली क्वेस्ट कसरी सफल गर्ने महत्पूर्ण रह्यो । यसको मुख्य उद्देश्य कर्णालीलाई प्रवर्द्धन गर्नु हो । त्यसैले यो कार्यक्रमलाई कसरी सफल बनाउने ? भन्नेतर्फ हाम्रो ध्यान केन्द्रीत रहेको छ । दशैं पनि यतै मनाउँदै छ ।’ 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दशैं कतै टाढा नगई राजधानी काठमाडौंमा नै परिवारसँग मनाउँदै छन् । अहिले पर्यटकीय सिजन भएकाले पनि टाढा जाने अवस्था रहेन भन्दै उनले भने, ‘सिजन सुरु भएपनि सोचेको जस्तो पर्यटक आगमन भएको छैन् । त्यही भएर कामसँगै परिवारसँग दशैं मनाउँदै छु ।’

गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष गोपाल थापाले दशैं चलिरहे पनि आफू व्यवसायमा व्यस्त रहेको बताए । कोरोना महामारीपछि अहिले विदेशी पर्यटकहरु अल्ली बढी भित्रिएको बताउँदै उनले दशैं मनाउन नभ्याएको बताए ।  

थापाले भने, ‘यस वर्ष दशैंलाई भन्दा पनि काम तिर नै फोकस गर्नुपर्यो । दशैंको टीकाको दिन भोलि मंगलबार टीका लगाउन मात्रै गाउँ जान्छु होला । चाँडै नै फर्किएर काममा व्यवस्था हुनुपर्नेछ ।’ आफ्ना ग्राहक (पर्यटक)हरुलाई काठमाडौं, पोखरा, नगरकोटतिर टुर गराइरहेको बताए । 

Advertisement

Advertisement