पन्द्र दिनमा ११३४ दुर्घटना, सय जनाको मृत्यु, सात सय घाइते, सरकार बेखबर

Advertisement

काठमाडौं । सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन् । 

सोमवार संसदको पूर्वाधार विकास समिति बैठकमा सांसदहरुले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भए पनि सर्वसाधरण ठगिने क्रम भने रोक्न नसकेको बताए । 

Advertisement

उनीहरुले यो वर्षको दशैँमा गाउँघरमा जाने यात्रुहरु सरकारले तोकेको भाडादर भन्दा चार गुणा बढीले ठगिएको बताए । सांसदहरुले सरकारले यातायातका सवारी दुर्घटना हुन नदिएको दाबी गरे पनि पछिल्लो १५ दिनमा एक हजार १३४ वटा दुर्घटना र सय जनाको ज्यान गएको र सात सय जना घाइते भएको दाबी गरे । 

समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले यो पटकको दशैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे । उनले सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गरे । 

पौडेलले दशैंमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको बताए । उनले सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दशैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गरे । 

पौडेलले भने, ‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ । सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बद्मास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?।’

नेकपा एमालेका सांसद ठाकुर गैरेले दशैँको १५ दिनमा एक हजार १३४ वटा दुर्घटना र सय जनाको ज्यान जाँदा समेत सरकारले दुर्घटना हुन नदिएको भन्दै दाबी गर्नु जायज नभएको बताए । उनले चाडपर्वको समयमा यातायात व्यवस्था सहज बनाउने र यात्रु ठगी रोक्न समितिले सरकारलाई लिएको निर्देशन पूर्णरुपमा सरकारले पालना नगरेको बताए । 

गैरेले यातायात मन्त्री ज्वालालाई प्रहरीको सूचना थाहा छ ? भन्दै पछिल्लो १५ दिनमा एक हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारलाई जानकारी नहुन दुखद् भएको बताए । उनले पछिल्लो १५ दिनमा सात सय जना घाइते नहुनु पनि सामान्य कुरा नभएको बताए । 

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले चाडपर्वमा सरकारले भने जस्तो यातायात व्यवस्था सहज बनाउन नसकेको गुनासो गरे । त्यस्तै बैठकमा सांसदहरुले ठेक्का सम्झौता भएर निर्माण कार्य अगाडि बढेका र बन्न लागेको सडकहरु तत्काल सम्पन्न हुननसक्नुको मन्त्रीसँग कारण माग समेत गरे । 

Advertisement

Advertisement