काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सवमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।
“नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी छ”, राष्ट्रपति पौडेलले भने, “म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।”
यस कार्यका लागि नेपाल पर्वतारोहण संघ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ छ । नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी संघले सफलतापूर्वक पूरा गरेको उनले उल्लेख गरे ।
नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।
सोही कार्यक्रममा संघले प्रकाशन गरेको नेपाल पर्वत बुलेटिन विमोचन गर्नुका साथै आठ हजार मिटर भन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरी विश्व रेकर्ड कायम गर्न सफल महिला आरोही पासाङ ल्हामु शेर्पा अकितालाई ‘पासाङ ल्हामु याड्भेन्चरस माउन्टिनिरिङ अवार्ड’ प्रदान गरेको थियो ।
साथै ‘एशियाली पर्वतारोहण महासंघ शेर्पा अफ दी इयर २०२३’ अवार्ड पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पालाई प्रदान गरियो । दावा याङ्जुम शेर्पाले आठ हजार मिटर भन्दा माथिका विश्वका १४ मध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेकी छन् ।
कुमार खड्ग विक्रम शाह याड्भेन्चरस अवार्ड विश्व कीर्तिमानी पर्वतारोही तथा सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पालाई प्रदान गरियो भने निमा रिन्जी शेर्पालाई डाक्टर हर्क गुरुङ माउन्टिनिरिङ अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा संघले गएको महिना (असोज २० गते) का दिन शिशापाङ्मा हिमालमा गएको हिमपहिरोमा बेपत्ता रहेका विश्व कीर्तिमानी पर्वतारोही तेन्जेन (लामा) शेर्पाको परिवारलाई नगद पाँच लाख रुपियाँ प्रदान गरेको छ । शिशापाङ्मा हिमालमा बेपत्ता रहेका कीर्तिमानी पर्वतारोही शेर्पासहित दुई जनाको स्थिति अझै पनि अन्योलमा छ । शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको र दुई जना अझै बेपत्ता छन् ।