भारतीय युवतीद्धारा लुक्ला– सगरमाथा आधार शिविर–लुक्ला म्याराथन तीन दिनमै पूरा

Advertisement

काठमाडौं । भारतकी सबिता महतोले लुक्ला–सगरमाथा आधार शिविर–लुक्लासम्मको १०४ किलोमिटर लामो दूरीको म्याराथन तीन दिनभन्दा कम समयमा पूरा गर्न सफल भएकी छन् । 

विश्वको सबैभन्दा लामो म्याराथन लुक्ला (२,८५० मिटर)– सगरमाथा आधार शिविर (५,३६४ मिटर)– लुक्ला १०४ किलोमिटर दूरी उनले तीन दिनभन्दा कम समयमा पूरा गरेकी हुन् । महतोले गत अक्टोबर २८ बाट सुरु गरी अक्टोवर ३० का दिन १०४ किलोमिटर दूरीको म्याराथन पूरा गरेको हाइ फाइभ एड्भेन्चर प्रा.लि.का अध्यक्ष नर्विन मगरले जानकारी दिइन । 

Advertisement

उनले १०४ किलो मिटर दूरी ६४ घण्टामा पूरा गरेकी हुन् । महतोलाई आज (बिहीबार) हाइ फाइभकी अध्यक्ष नर्विन मगर र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले  प्रमाण–पत्र र पदक प्रदान गरे । 

सुवेदीले नेपालमा यस्तो किसिमको साहसिक खेलहरुले पर्यटन क्षेत्रको विकास सहयोग पुग्ने बताए । उनले यस्ता म्याराथन आयोजनाले थप पर्यटकहरु भित्राउन सहयोग पुग्ने बताए । 

हाइ फाइभ एड्भेन्चरकी अध्यक्ष नर्विन मगरले पर्यटन क्षेत्रमा यस खालको खेलले पर्यटन प्रवर्द्धनमा अझ सहयोग पुग्ने बताए । हरेक वर्ष यस्ता म्याराथनका लागि निमन्त्रणा दिन सके नेपालले लाभ लिनसक्ने बताए । आफ्नो कम्पनीको लक्ष्य सयौं जनालाई म्याराथनमा सहभागी गराउने रहेको मगरले बताइन् । 

महतोले आफू नेपाल आएको यो चौंथो पटक हो भन्दै पहिलो पटक साइक्लिङको लागि आएको सुनाइन । उनले सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्य रहेको सुनाइन् । पच्चिस बर्षीया महतोले साइक्लिङ गर्दागर्दै हिमाल पनि चढे कस्तो होला ? भन्ने मनमा आएको बताइन् । यसअघि विश्वको सबैभन्दा अग्लो सडक लद्दाखको उम्लिङ ला (५,७२७ मिटर) म्याराथन गरिसकेकोले लुक्लामा दौडिन सहज भएको बताइन् । 

महतोले भनिन, ‘म अरु ठाउँहरुमा पनि दोडनु सक्छु भन्ने सोचमा थिए । मलाई एक जनाले तिमी किन सगरमाथातिर दौडिन जान्नौं ? भनेपछि मैले हाइ फाइभ एड्भेन्चरकी अध्यक्ष नर्विन मगरसँग सम्पर्क गरें ।’ आफूले मगरलाई आफू चार दिनमा लुक्ला–सगरमाथा आधार शिविर–लुक्ला म्याराथन गर्ने सुनाएको तर त्यो भन्दा छिटो नै दौड पूरा गर्न सफल भएको बताइन् । 

Advertisement

Advertisement