नेपालमा मौसमको हिसाबले ३६५ दिनमा ३०० दिन प्याराग्लाइडिङ उडान गर्न मिल्छः सुनुवार

Advertisement

काठमाडौं । विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि साहसिक खेल प्याराग्लाइडिङ उडानको आकर्षण बढ्दो छ । नेपालमा व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशक भइसक्यो । 

कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रा.लि.का सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले विश्वका विभिन्न ४० देशमा प्याराग्लाइडिङ र कायकिङ गर्दै जोखिमपूर्ण यात्रा गरिसकेका छन् । अहिलेसम्म उनले आकाशमा २२ हजार घण्टा उडान भरेका छन् । सुनुवारले २०१० मा मेची–महाकालीसम्मको लामो यात्रा समेत गरिसकेका छन् । 

Advertisement

साथै, सन् २०११ मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि सबैभन्दा होचो समुन्द्री सतह बंगालको खाडीसम्म उड्ने र नदीमा कायकिङ गर्ने उद्देश्यले ‘समिट टु सी’ सगरमाथाको चुचुरोबाट सन् २०११ मे २१ मा प्याराग्लाइडिङमा उडेर जुन २८ मा समुद्री सतहसम्म पुग्न सफल भएका थिए । 

‘समिट टु सी’मार्फत गिनिज बुकमा सानोबाबु र लाक्पाले विश्व रेकर्ड कायम पनि गरेका छन् । साथै उनले अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारोबाट प्याराग्लाइडिङ गर्न सफल भएका थिए । युरोपको सबै भन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसबाट टेण्डम (दुई जना उड्ने) उडान गरेर नयाँ रेकर्ड बनाएका छन् । 

माउन्ट एल्ब्रसबाट टेण्डम उडान गर्ने पनि उनी विश्वकै पहिलो पाइलट हुन् । साहसिक उडानले नेपालको नाम विश्वभर चिनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारसँग नेपालमा प्याराग्लाइडिङ उडानको सुरुवाती र प्याराग्लाईडिङ उडानको सुरक्षाको बारे कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

नेपालमा प्याराग्लाइडिङ उडान कहिलेबाट सुरु भयो ? यसप्रति आकर्षण कस्तो ?
नेपाल मौसमको हिसाबले पनि ३६५ दिनमा ३०० दिनै प्याराग्लाइडिङ उडान गर्न मिल्छ । यो खालको विशेषता संसारमा कुनै पनि ठाउँ छैन् जुन हाम्रो देश नेपालमा छ । उच्च हिमाली हावापानीमा उडान गर्नको लागि नेपालबाहेक संसारमा अरु ठाउँ नै छैन् । साहसिक खेल प्याराग्लाइडिङको नेपालमा धेरै सम्भावना छ । प्याराग्लाईडिङ खेल बिना इन्जिन उडान गर्न मिल्छ । 

विश्वमा प्याराग्लाइडिङको सुरुवात चाँहि जहाजबाट हामफाल्नको लागि दोस्रो विश्व युद्ध यतादेखि प्यारासुटबाट विकास हुँर्दै प्याराग्लाइडिङमा आइपुगेको हो । विश्व इतिहास हेर्ने हो भने यसको सुरुवात अमेरिकाबाट सुरु भएको हो भन्ने एक किसिमको तर्क छ भने अर्कोतर्क फ्रान्सबाट सुरु भएको भन्ने गरिन्छ । तर नेपालमा चाहिँ सन् १९९६ मा भित्रिएको हो प्याराग्लाइडिङ । नेपालमा सन् १९९६ मा पहिलो पटक सनराइज प्याराग्लाइडिङले व्यवसायिक उडान सुरु गरेको थियो । त्यसपछि आजको दिनसम्म करिब तीन दशक पार गरिरहँदा नेपालमा लगभग ८० वटा प्याराग्लाइडिङ कम्पनीहरु विभिन्न ठाउँमा सञ्चालनमा आइसकेको छ । मेचीदेखि महाकालीसम्म कुनै पनि भौगलिक बनोट, कुनै पनि डाँडाकाँडामा, नेपालको हावा पानीको हिसाबले पनि नेपालको पहाडी भेगमा ३०० दिन नै प्याराग्लाइडिङ उडान गर्न मिल्छ । प्याराग्लाइडिङ उडान राष्ट्रिय र अन्तर्राष्ट्रियको बजारलाई हेर्ने हो भने पनि यो विशेषगरी फान्स, स्विट्जरल्याण्ड, जर्मनी, अस्ट्रिया, इटाली, अमेरिका लगायतका देशहरुको हिमालहरुमा खेलकुदको रुपमा विकास भइरहेको छ । अहिले सबैभन्दा बढी पाइलटहरु कोलम्बिया, मेक्सिकोलगायतका देशहरुमा छन् । पछिलो समय छिमिकी मूलूक भारतमा पनि त्यस्तै छ । इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, भियतनाम, चीन अन्य देशहरुमा यो नयाँ खेलकुद भएकोले खेलकुद प्याराग्लाइडिङ एक्दमै द्रुतगतिमा अगाडी बढिरहेको अवस्था छ । 

प्याराग्लाईडिङ उडानको सुरक्षाको बारेमा के भन्नुहुन्छ ?
म यति भन्नु चाहान्छु कि जोकोहीलाई प्याराग्लाईडिङ गर्न मन पर्छ, उहाँहरुले नेपालको जुनसुकै ठाउँबाट प्याराग्लाईडिङ उडान गर्नु सक्नु हुन्छ । तर सुरक्षाको कुरामा सम्झौता गर्न मिल्दैन र गर्नु पनि हुँदैन । नेपालको प्याराग्लाईडिङ उडान सुरक्षालाई हेर्ने हो भने १९९६ बाट आज २०२३ सम्ममा आउँदा पर्यटक (ग्राहक) भनौ अथवा पाइलटकै गडबडीले भनौं, दुई जनाकै ५०–५० प्रतिशत गल्तीले दुई जनाको मात्र ज्यान गएको छ । नेपालमा प्याराग्लाइडिङ भित्रिएदेखि यो अवधिसम्म आउँदा आकाशमा दशौं लाख मानिस उडेका छन् । तर हालसम्म दुई जनाको मात्र मृत्यु भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट प्याराग्लाईडिङ उडान अनुमति पत्र लिएका दुई जना प्याराग्लाईडिङ व्यवसायिक टेन्डम पाइलटको मृत्यु भएको छ । त्यस कारणले यो उडान अन्यको तुलनामा धेरै सुरक्षित हो । साथै प्याराग्लाइडिङ सुरक्षाका दृष्टिले धेरै सुरक्षित छ । नागरिक उड्डयन सुरक्षा, बीमा लगायतका सबै मापदण्ड यसमा लागू गरिन्छ । 

अरु देश र नेपालमा प्याराग्लाईडिङ उडान गर्दा के फरक छ ?
अग्लो डाँडाहरु, उच्च हावापानीको बहावले अलि थोरै असर परेकोले पनि नेपाल अन्य देशहरुभन्दा एक्दम राम्रो छ किनभने नेपालमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा छन् । छ हजार मिटर अग्ला, सात हजार मिटर अग्ला हिमाल अझ धेरै संख्यामा रहेको छ । यो उच्च हिमाली हावापानीमा उडान गर्नको लागि नेपाल बाहेक संसारमा अरु कुनै पनि ठाउँ नै छैन् । 

नेपालमा प्याराग्लाईडिङ उडान सञ्चालन गर्न के–कस्तो चुनोतीहरु छ ?
प्याराग्लाईडिङ सञ्चालनमा ल्याउन सबैभन्दा बढी चुनौती भनेको धेरै जसो मानिसहरुमा प्याराग्लाईडिङ भन्ने बित्तिकै यो हामफाल्ने चिज हो भन्ने बुझाइ छ । यो खासमा हामफाल्ने चिज होइन । यो उडने चिज हो । पोखरामा पहिलो प्याराग्लाईडिङ उडान १९८२ मा जापनिजले गरेको इतिहास छ । अहिलेसम्म हेर्दा ५० औं वर्ष भयो । नेपालमा प्याराग्लाईडिङ औपचारिक रुपमा १९९६ मा आएको हो । यति राम्रो र साहसिक खेलको यति धेरै सम्भावना हुँदाहुँदै सरकारले चाहिँ यो साहसिक खेललाई अझ त्यति प्राथमिकता दिएको छैन् । यसलाई सुरक्षाको हिसाबले कसरी व्यवस्था गर्न सकिन्छ ? भन्ने कुरामा सरकारको अझ् ध्यान गएको छैन् । हामीले साहसिक खेल भन्ने बित्तिकै विलासिता, आवश्यकता नमानेको होकी भने थियो । तर, अहिले साहसिक पर्यटन भनेपछि सरकारले अलिकति प्राथमिकतामा राखेको छ । हाम्रो सम्बन्धित संघसंस्था, सरोकारावालाको मागअनुसार सरकारले नगरेको होइन । तर, जुन गतिले गर्नुपर्ने हो, त्यो चाहिँ भएको छैन् । हामीले करिब तीन दशक पार गरेर आइरहँदा हिजोको दिनमा दुई–तीन जना पनि प्याराग्लाइडिङ पाइलोट पनि हुँदैन थियो भने अहिले व्यवसायिक र सोलो पाइलट गरी करिव चार सयको हाराहारीमा पुगेको छ । 

यति धेरै पाइलट हामीसँग हुनु भनेको एउटा के बुझनु पर्यो भने व्यक्तिगत र एउटा निजी कम्पनीहरुले गर्दाखेरी नै यहाँसम्म पुगेको हो । प्याराग्लाइडिङ व्यवसाय मात्र नभएर नेपालको इतिहासमा २२ वर्षपछि पदक पनि यो प्याराग्लाइडिङ खेलले १८ औं एशियाली खेलबाट ल्याएको हुनाले प्याराग्लाइडिङ खेलमा राज्यको ध्यान पुगियो भने भविष्यमा यो देशलाई अझ पदक दिलाउने छ । ठूलो सम्भावना भएको खेलहरुमध्ये प्याराग्लाइडिङ पनि एक हो । तर राज्यले गर्नुपर्ने काम भएको छैन् । 

नेपालमा प्याराग्लाइडिङ उडान कै लागि भनेर पर्यटकहरु कति आउँछन् ?
प्याराग्लाइडिङ उडान संसारमै यो चाहिँ सुरुवात हो । नेपालमा विदेशी पर्यटकहरु प्याराग्लाइडिङ उडान गर्न धेरै आउँछन् । कोभिड–१९ पछि बल्ल अहिले अलि विदेशी पर्यटकहरु आइरहेका छन् । त्यसको लागि पनि इन्क्वाइरीहरु पनि बढिरहेको छ । गत वर्ष ५०–६० जना विदेशी पर्यटक प्याराग्लाइडिङ उडान गर्न आएका थिए । यो वर्ष पनि करिब एक सय जना विदेशी पर्यटक आउँछन् भने हाम्रो विश्वास छ । 

प्याराग्लाइडिङ उडानको लागि नेपालको नियम कानुन कस्तो छ ? 
प्याराग्लाइडिङ उडानको सुरुवाती तिर प्याराग्लाइडिङ उडानसम्बन्धी नीति नियम नै थिएन् । त्यसपछि हामी गिद्ध जस्तै जता जता हावा त्यता त्यता उडन पाउँथ्यो । त्यो बेला विदेशी पर्यटकहरु धेरै संख्यामा नेपालमा प्याराग्लाइडिङ उडान आउँथ्यो । अहिले पनि नेपालमा त्यस्तै नै हुनुपर्छ भन्ने होइन् । प्याराग्लाइडिङ उडान गर्दागर्दै दुर्घटना हुनु गम्भीर कुरा पनि हो । अहिले राज्यले प्याराग्लाइडिङ उडान गर्दा हुने दुर्घटना न्युनीकरण गर्नको लागि अन्तर्राष्ट्रिय नियम कानुनकै आधारमा नेपालमा पनि प्याराग्लाइडिङ उडानमा नीति नियम बनिसकेको छ । तर नेपाललाई माया गर्ने, नेपालमा प्याराग्लाइडिङ उडान गर्न चाहाने र अन्तर्राष्टिय नीति नियम मै रहेर र नेपालको अग्लो हिमालहरुको दृश्य हेर्दै, उच्च हावा पानीको अनुभव बटुल्दै प्याराग्लाइडिङ उडान गर्न चाहाने पर्यटकको माग बढ्दो छ । 

Advertisement

Advertisement