कुटपिट गर्ने प्रहरीलाई पनि कारवाहीको माग
कुटपिट गर्ने प्रहरीलाई पनि कारवाहीको माग
काठमाडौं । आरती साहको न्यायको लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि ऐक्यवद्धता जनाएको छ ।
गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरिएको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएको छ ।
बुधबार प्रभु साहलगायत उनको पार्टीका नेता, कार्यकर्ता धर्नास्थलमै पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताए ।
साहले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै खेद प्रकट गरे । उनले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गरे । साहले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताए ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छी बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दा पनि माग पूरा हुन नसकेको बताइन् । आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिँडिरहँदा पनि कानूनी कारबाही नभएको भन्दै उनले आफूहरुलाई गरिब, निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको गुनासो गरिन् ।
पीडित परिवारले आफूलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।