काठमाडौं । मारवाही समुदायद्धारा सोमबार दीपावली स्नेह मिलन समारोह आयोजना गरेको छ । मारवाही सेवा समितिद्धारा आयोजित कार्यक्रममा एशियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मानित गरियो ।
सम्मानित खेलाडीहरु क्रिकेट खेलाडीहरु दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र कराते खेलाडी एरिका गुरुङ छन् । ऐरीले १९औं एशियाली खेलकुदमा पुरुषतर्फको क्रिकेट खेलमा एउटै खेलमा अति दुर्लभ पाँच वटा विश्व कीर्तिमान बनाउन सफल भएका थिए । उनले नौ बलमा अर्तसतक बनाई विश्व कीर्तिमान बनाएका थिए ।
त्यस्तै, मल्लले ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाएका थिए । त्यसैगरी, गुरुङले एशियन खेलकुदमा कराते खेलमा नेपाललाई रजत पदक दिलाउन सफल भएकी थिइन् । उनीहरु सबैलाई मारवाही सेवा समितिले एक लाख एक हजार रुपियाँ नगदसहित सम्मानित गरिएको हो ।
सोही अवसरमा मारवाही समाजका सदस्य एवं नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल, पूर्वक्रिकेटर पारस लुनियालाई पनि सम्मानपत्र र मायाको चिनो प्रदान गरियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाही परिषदका अध्यक्ष पवन मित्तल, मारवाही महिला मञ्चकी अध्यक्ष अर्चना काबरा, मारवाही युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्मा, मारवाही सेवा समितिका संयोजक रमेश तापडियालगायतले बोलेका थिए ।
सो अवसरमा पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा ८३५ थान सिरक, नौ सय थान पीएफ मेट, दल एक किलो र नुन एक किलो राखेर प्याक गरिएको चार सय प्याकेट चामल हस्तान्तरण गरिएको जानकारी दिइयो ।
मारवाही समुदायको धार्मिक र सामाजिक परम्पराअनुसार समाजका बन्धुवान्धव भेला भई एक आपसमा शुभकामना आदानप्रदान गरी भाइचाराको सम्वन्ध अभिवृद्धिका लागि हरेक बर्ष दीपावली स्ने समारोह आयोजना गर्ने गरिन्छ । आजको कार्यक्रममा सयौंको संख्यामा मारवाही समुदायका व्यक्तिहरु सहभागी थिए ।