सरकारमा दुर्गा प्रसाइँको संत्रासः मन्त्रीहरुको निवास वरीपरी पनि निषेधित क्षेत्र घोषणा

Advertisement

काठमाडौँ । सरकारले मन्त्रीहरुको सरकारी निवास क्षेत्रमा पनि निषेधाज्ञा घोषणा गरेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले संयुक्त राष्ट्र संघको कार्यालय रहेको यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको हो । 

दुर्गा प्रसाइँले हालको व्यवस्था परिवर्तनका लागि भन्दै देशभरबाट लाखौ मानिस काठमाडौंमा उतारेर प्रदर्शन गर्ने चेतावनी दिएपछि सरकार संत्रासमा रहेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै  ललितपुरको वडा नम्बर ३ को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ । निषेधाज्ञाको क्षेत्र पुल्चोक मन्त्रीहरुको सरकारी निवास रहेको क्षेत्र हो । 

Advertisement

निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भर्इ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जनाइएको छ । 

सरकारले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई १ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान’ ले मंसिर ७ मा एकै दिन विभिन्न माग राखी छुट्टाछुट्टै विरोध कार्यक्रम आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई ३० दिनका लागि भेला, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको हो ।

Advertisement

Advertisement