पश्चिम नेपालको भूकम्पको कारण देखाउँदै ‘द ग्रेट कर्णाली क्वेस्ट’ तीन महिना पछि धकेलियो

Advertisement

काठमाडौं । यसै महिनाको पहिलो साताबाट आयोजना हुने भनिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ पश्चिम नेपालमा हालै गएको भूकम्पलाई कारण देखाउँदै आयोजकले तीन महिना पछि धकेलेको छ । अब यो प्रतिस्पर्धा आउँदो फागुन २५ गतेबाट सुरु हुनेछ । 

यस प्रतियोगिताबारे जानकारी दिन नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस संस्थाका अध्यक्ष शिव अधिकारीले जाजरकोट, रुकुम क्षेत्रमा हालै गएको भूकम्पले व्यापक क्षति भई जनजीवन पनि प्रभावित भएको चुनौतीपूर्ण समयका कारण प्रतियोगिताको समय पछि सार्नुपरेको बताए । 

Advertisement

छ दिनसम्म चल्ने ‘द ग्रेट कर्णाली क्वेस्ट’ अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएको र पहिलो पटक आयोजना गर्न लागिएको उनको भनाई छ । अधिकारीले सबैभन्दा लामो (२४८ किलोमिटर) राफ्ट दौड हुन लागेको बताए । 

उनले नेपालको पर्यटन उद्योग जल, थल र आकाश तीन वटै प्राकृतिक सम्पदाहरूमा आधारित र सञ्चालित रहेको बताउँदै नेपालको पर्यटन उद्योगका विभिन्न विधाहरुमध्ये जलसम्पदामा आधारित साहसिक जलयात्रा पनि एउटा महत्वपूर्ण विधा हो भने । 

नेपालका उच्च हिमश्रृंखलाहरुबाट सिर्जित र द्रुत गतिमा बहने ठूला नदीहरु साहसिक जलयात्राको लागि विश्वभर प्रसिद्ध मानिन्छ । अधिकारीले भने, ‘कर्णाली क्षेत्रको मनोरम प्राकृतिक परिदृश्य, सांस्कृतिक विविधता र त्यहाँका जनताको न्यानो आतिथ्यताका कारण ठूलो संख्यामा पर्यटक भित्र्याउने प्रचुर सम्भावना छ । यसबाहेक, कर्णाली नदी आफै ह्वाइटवाटर उत्साहीहरूबीच लोकप्रिय गन्तव्य हो ।’

‘द ग्रेट कर्णाली क्वेस्ट’ नारासहित नेपाल नदी सरंक्षण संस्था (एनआरसीटी) र कर्णाली बेसिन सरंक्षण प्रतिष्ठान (केबीसीएफ)ले समेत मिलेर आयोजना गर्न लागेका हुन् । यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय तह, नेपाल पर्यटन बोर्डले पनि सहयोग गर्नेछन् । 

दैलेखको आठविसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म कर्णाली नदीको किनारमा २४८ किलोमिटर दूरी भर्ने यस प्रतियोगितामा सहभागीहरूलाई मनोरम प्राकृतिक परिदृश्यहरू अन्वेषण गर्ने, चुनौतीपूर्ण र्यापिडहरू नेभिगेट गर्दै साहसिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायहरूसँग संलग्न भई संस्कृतिसँग परिचित हुने अवसर प्रदान गर्ने आयोजकको भनाई छ । 

यसअघि यो कार्यक्रम मंसिर ७ बाट आयोजना गर्ने भनिएको थियो ।  ‘द ग्रेट कर्णाली क्वेस्ट’का संयोजक मेघ एलेका अनुसार च्टको टोली र एक कायाकर सम्मिलित, सहभागीहरूले बाटोमा राखिएका छ वटा शिविरहरूमार्फत रमाइलो यात्रामा संलग्न हुने बताए । 

प्रतियोगितामा १६ टोली सहभागी हुने र उनीहरुको लागि आवेदन खुल्ला भइसकेको बताउँदै उनले अहिले ५–६ वटा अन्तर्राष्ट्रिय टोलीको आवेदन प्राप्त भएको बताए । प्रत्येक टोलीको दर्ता शुल्क ४५० अमेरिकी डलर राखिएको छ । समापन समारोहमा सहभागीहरूले नगद पुरस्कार, पदक र प्रमाणपत्रहरू पाउने छन् । यो प्रतियोगितालाई गिनिज वर्ल्ड रेकर्डमा उल्लेख गरिने बताइएको छ । 

Advertisement

Advertisement