काँग्रेसमा राष्ट्रियसभा विवादः गुटगत आधारमा अवसर पाएका लान लागिएपछि चर्को विरोध

Advertisement

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसभित्र गुटगत आधारमा बारम्बार असर पाएका तर असफल र बदनाम नेताहरुलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारीको चर्को विरोध सुरु भएको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवाले गएको संसदीय चुनावमा हारेका बदनाम नेताहरु कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाउन लागेपछि शेखर–गगन समूहबाट विरोधको चर्को स्वर आएको हो । 

Advertisement

आज शेखर कोइराला र गगन थापा समूह (संस्थानइतर समूह)को बैठक बसेको थियो । बैठकमा काँग्रेसका सांसद सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताए । 

आफ्नो समूहको भेलामा उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए । शर्माले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताउँदै आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए । लामो समयदेखि शेखर र गगनबीच बोलचाल बन्द थियो । 

उनले भने, ‘काँग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन । हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाई र गगन दाईको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’ शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने शर्माको तर्क छ । 

त्यस्तै, सोही समूहका अर्का नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउननहुने बताए । उनले पटक पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बताए । 

राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने घिमिरेले बताए । 

उनले भने, ‘पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ । उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो । राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ । फेरि अहिले अवसर दिनुपर्ने कारण के हो ? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ ।’

Advertisement

Advertisement