काठमाडौं । काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा आधारित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताएकी छन् ।
आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
पछिल्लो समयमा डिजिटल मिडियाको विकाससँगै आम मानिसहरुले छिटो छरिता र सहजरुपमा सुचना पाउने अवस्था सिर्जना भएपछि छापा तथा टेलिभिजन माध्यमहरु धरासायी भएका छन् । मन्त्री शर्माले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताइन् ।
सूचना जनतासमक्ष लैजाने एउटा पाटो भए पनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताउँदै उनले जनतासम्म सरकारले गरेका निर्णयहरु पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।
शर्माले भनिन् ‘अहिले आउँदा प्रिन्टेड मिडिया खासगरी पनि सरकारी मिडिया हामीले विगतमा कुन सन्दर्भमा यो स्थापना भयो ? कसरी अघि बढ्दै गयो ? आज हामी कुन ठाउँमा छौँ ? भन्नेकुराको राम्रो समीक्षा नगर्ने हो भने हामी साच्चै नै सस्टेन गर्न गाह्रो छ । अघि बढ्न गाह्रो छ । हामी अघि बढ्न सक्दैनौँ । अहिले सूचना तथा प्रविधिमा आएको व्यापक परिवर्तन र हाम्रो सामाजिक चेतनामा आएको परिवर्तन सबैकुरा हेरेर हामी अघि बढ्न जरुरी छ ।’
उनले थपिन्, ‘हाम्रो प्रिन्टेड मिडिया चल्दै आयौँ । त्यसरी अब चल्न सक्दैन । अबका प्रिन्टेड मिडिया न्युज बेसिसमा गएर चल्दैनन् । न्युज त हाम्रो हातहातका मोबाइलमा जान्छ । अनलाइनहरु, युट्युबहरु छन् । त्यसबाट हेर्छौं । मिनेट मिनेटका न्युज हातका मिडियाबाट हेर्छौं । न्युज बेसिसमा गएर प्रिन्टेट मिडिया चलाउन सकिँदैन । खास विषयवस्तु, कुनै न कुनै विषयवस्तुको लिडिङ कार्यक्रम मिडियामा चाहिन्छ । त्यो प्रिन्टेट मिडियाले लिड गर्न सक्नुपर्छ ।’