काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
बिहीवार राजधानीमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलनउनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए । यादवले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्नेकुरामा काम गरिरहेको बताए ।
सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने बताउँदै उनले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए । यादवले भने, ‘संघ र स्थानीय तहको बीचमा सिधा जुन प्रकारको कानूनहरुको अफ्ठ्याराहरु छन्, जुन स्वायत्तताको कुरा उठेको छ, अहिले शासनको कुरा उठेको छ, यो प्रत्याभुति दिलाउन सरकारले स्थानीय तहमा खासगरी नगरपालिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने केही कानूनमा यी कुराहरु उल्लेख पनि गरिएको छ । खानेपानीको बारेमा हामीले अब स्थानीय सरकारले कति जनसंख्यालाई प्रतिनिधित्व गर्ने ? अब छुट्याउने बेला भइसक्यो । नगरपालिकाको स्थिति के छ भने एकरुपता छैन् ।’
उनले थपे, ‘विकासको बजेटको समुचित र उचित बजेट विनियोजन हुनुपर्छ । कुनै नगरपालिकाको जनसंख्या ६० हजार छ, कुनै नगरपालिकाको जनसंख्या २२ हजार छ, भन्दाखेरी २२ हजारले पनि त्यत्ति नै पैसा पाउँछ भने ६० हजारले पनि त्यत्ति नै पैसा पाउँछ भने यो समानता भएन । हामी नगरपालिकाको विकासमा, सन्तुलित र समुचित विकासको लागि नगरपालिका महासंघले यो कुरालाई पनि गम्भीरताका साथ बुझ्नुपर्छ । होइन भने विकास असन्तुलित छ, हामी चाहन्छौँ विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्छ । देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्छ । नगरपालिकालाई स्वावलम्वन, आत्मनिर्भर बनाउने हो भने जनसंख्याको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।’
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ स्थानीय तह नमिलिकन कुनै पनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले संघले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताए ।