फागुनसम्म प्रदेशलाई अधिकार नदिए कांग्रेसले सिंहदरबार घेर्छः विश्वप्रकाश शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

राजसंस्था र हिन्दूराज्य पुनस्थापनाका लागि फागुनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुहत आन्दोलनको तयारी गरेको बेला त्यसलाई बिथोल्ने योजना कांग्रेसले बनाएको देखिएको छ ।  

Advertisement

शनिवार राजधानीमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा शर्माले काँग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेशले राखेका मागहरु पूरा गर्न आग्रह गरे । 

उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए । शर्माले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याँई नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । 

उनले भने, ‘मधेस प्रदेशको सभापतिजीको अभिव्यक्तिप्रति म समर्थन जनाउँदै भन्न चाहन्छु । उहाँले मधेस प्रदेशमा बोल्दा पनि भन्नुभयो । यदी स्थानीय तहलाई अधिकार चाँडो दिनेगरी निजामति सम्बन्धी, लोकसेवा सम्बन्धी, आर्थिक सम्बन्धी कानून, प्रहरी सम्बन्धी कानून यी सबै निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने हामी सिंहदरबार घेर्छौं भन्नुभएको छ । आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली काँग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, काँग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ ।’

शर्माले रुस—युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले युद्धमा मृत्यु नेपालीहरुको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे । 

शर्मा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभइ योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए । 

Advertisement

Advertisement