पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई ‘न्याथम’मा गाभ्ने सरकारी निर्णयप्रति पूर्वपदाधिकारीको आपत्ति

Advertisement

काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । 

प्रतिष्ठानका पूर्वपदाधिकारीले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएकोप्रति पदाधिकारीले आपत्ति जनाएका हुन् । उनीहरुले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालासँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाएका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धि प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताइन् । प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्नेमा ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवारपन देखाएको उनको भनाइ छ । 

शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धी समाप्त पार्न खोजेको शेर्पाले दाबी गरिन् । उनले न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुवै निकायको भूमिका फरक रहेको स्पष्ट पारिन् । जसकारण दुई निकायलाई एकआपसमा  गाभ्न नहुने शेर्पाको तर्क छ । 

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए ।

पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरुलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे  । 

यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा राज्यले नै  निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए । उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविध्यालयको रुपमा अगाडी बनाउन समेत सरकालाई आग्रह गरे ।

प्रतिष्ठानका पुर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए । साथै, प्रतिष्ठानका गुडविल एम्बासडर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

Advertisement

Advertisement